काठमाण्डौ । नेपाल आयल निगमले उपत्यका बाहिर पेट्रोलियम भण्डारणका लागि भन्दै विभिन्न ठाउँमा खरीद गरेको जग्गामा ६१ करोड भन्दा बढी आयकर छलेको भेटिएको छ । 

महालेखा परीक्षक टंकमणि शर्माले बिहीबार महालेखा परीषकको कार्यालयको ५५ औं प्रतिवेदन प्रस्तुत गर्दै आयल निगमको जग्गा खरीद प्रकरणमा जवाफदेहिताको धज्जी उडाइएको र आय कर मात्र ६१ करोड भन्दा बढी नतिरिएको फेला परेको बताए । 

'जग्गा खरीद प्रकरणमा समेत सोझै व्यक्तिबाट खरीद गरिएको, जग्गावालको रुपमा निगम निकटकै मान्छेहरुलाई खडा गरी करोडौं रकम हिनामिना भएको फेला परेको हो ।''-उनले भने । 

नेपाल आयल निगमले देशका विभिन्न क्षेत्रमा जग्गा खरीद गर्दा करोडौं रुपैयाँ भ्रष्टाचार भएको यसअघि नै सार्वजनिक भइसकेको छ । यही आरोपमा निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई पदमुक्त गरिएको थियो । यो बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेको भनिए पनि त्यसको कार्यप्रगति सन्तोषजनक छैन । बरु, प्रधानमन्त्री केपी ओली निकटका केही व्यापारीको समेत यो प्रकरणमा सहभागिता देखिएको भन्दै यो प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लाग्ने गरेको छ ।