भरतपुर । चितवनका किसानहरूले लगाएको गरिमा जातको धान नपसाएपछि किसानहरूले धमाधम हरियोबोट काट्न थालेका छन्।भारतबाट आयातित वर्ण शंकर गरिमा जातको धानको बिउ लगाउने किसानहरूको धानमा बाला नलागेको उनीहरूले बताएका छन्।

गत वर्ष गरिमा जातको धान लगाएर धान भित्र्याएका किसानहरू अहिले भने जिल्ल परेका छन्। यतिखेर अन्य जातको धान लगाउने किसानहरू धान काट्न व्यस्त छन्। तर गरिमा जातका धान लगाएका किसानहरू भने नपसाएको धान काटिरहेका छन्।

कृषि प्राविधिकहरुले धानमा विस्तारै बाला लाग्ने बताएपछि केही समय प्रतीक्षा गरेको तर हालसम्म पनि त्यस्तो कुनै लक्षण नदेखेपछि बोट काटेको चितवन कठारका किसान कृष्ण लामाले बताएका छन्। "सरकारले सिफारिस गरेर सूचीकृत गरेको धानको बिउ लगाउँदा पनि धोका भयो। धानको बिउ राख्दा, धान लगाउँदा, धान गोडमेल गर्दा राखेको मल र औषधिसम्मको क्षतिपूर्ति अब सरकारले दिनुपर्छ," किसान लामाले बताए।

तर गत वर्ष यही गरिमा जातको धान लगाउँदा उत्पादन राम्रो भएर राम्रो आम्दानी भएको किसानहरूको अनुभव छ। तर यसपालि धान नफल्दा आफूहरूलाई अचम्म लागेको एकजना किसान समीक्षा गौतमले बताईन्।

चितवनमा लगाएको धानमा बाला नलागेपछि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट असोज छ गते चार सदस्यीय विज्ञ टोलीले समस्याग्रस्त केही धानखेतको स्थलगत निरीक्षण गरेका थिए ।त्यसपछि विज्ञहरूले उक्त धानमा २५ दिनपछि बाला लाग्ने बताएको तर २४ दिन बितिसक्दा पनि धानमा बाला लाग्ने छाँट नदेखिएपछि आफूहरूले धान काटेर मिल्काउन लागेको किसानहरूले बताएका छन्।
उक्त धान गरिमा प्रजाति कै हो कि होइन भन्ने यकिन गर्न परीक्षणको लागि नमुना लगिएको भएपनि त्यसको प्रतिवेदन हालसम्म आइनसकेको किसानहरूले बताएका छन्।
अधिकांश किसानहरू धानमा बाला नलागेपछि बाला नलागेको धान काटेर तरकारी खेतीको तयारीमा लागेका छन्।
हालसम्म कति किसानले क्षति बेहोर्नु परेको छ भन्ने मूल्याङ्कन गर्ने काम नभएको कृषि ज्ञान केन्द्र चितवनका बाली अधिकृत माधव पौडेलले बताएका छन्।
क्षतिपूर्तिका लागि मूल्याङ्कन समिति गठन हुनुपर्ने उनले बताए।
किसानहरूले धानको कमसल बिउ उपलब्ध गराउनेलाई पनि कारबाही हुनुपर्ने भन्दै आफूहरूले गरेको खर्चको क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेका छन्।

व्यवसायीहरूले धानको बिउ बिक्री गरेको तथ्यांकलाई आधार मानेर हेर्दा चितवनमा करीब ९ सय ५० बिगाहमा उक्त गरिमा जातको धान लगाइएको हुनसक्ने अनुमान कृषि ज्ञान केन्द्र चितवनले गरेको छ। – बीबीसी नेपाली सेवा