काठमाण्डौ । दुुई विकास बैंकको सेयर सस्तोमै उठाउने हो ? हो भने तपाईले बुद्धिमता प्रयोग गरी उनीहरुले निकालेको लिलामी प्रक्रियामा सहभागी हुन सक्नुुभयो भने ती बैंकका सेयर सस्तोमै प्राप्त गर्न सकिन्छ । 

टुरिजम डेभलपमेन्ट बैंक र देवः विकास बैंक लिमीटेडले बिक्री नभएका सेयर लिलामीबाट बिक्री गर्ने सूचना निकालेका हुन् । 

टुरिजम डेभलपमेन्ट बैंक लिमीटेडले आगामी असार ७ गतेदेखि बिक्री नभएको सेयर लिलामीमा निकाल्ने भएको हो । यो बैंकले ४ लाख ३८ हजार २ सय कित्ता संस्थापक सेयर र २ लाख ६६ हजार ५ सय ३७ कित्ता साधारण सेयर लिलामीमा राखेको हो । 

यो विकास बैंकले गत चैत १३ गते १ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । त्यहीबेला निश्कासितमध्ये बिक्री नभएको सेयर अहिले लिलामीबाट बिक्री गर्न लागिएको हो । 

यो बैंकको लिलामीमा सहभागी हुन चाहनेले न्यूनतम १ सय रुपैयाँ मूल्यको बोल लगाउनुपर्नेछ । लिलामीका लागि असार १५ गतेसम्म सहभागी हुनुपर्ने र यसको अन्तिम नतिजा असार १७ गते सार्वजनिक हुने बताइएको छ ।

एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । यसको अर्थ एनआइबिएलको लाजिम्पाटस्थित मुख्य कार्यालयमा गएर लिलामी प्रक्रियामा सहभागी हुन सकिनेछ । यो बैंकको अन्तिम सेयर कारोबार मूूल्य प्रतिकित्ता ४ सय २७ रुपैयाँ रहेको छ । 

यसैबीच, देवः विकास बैंकले पहिलोपटक लिलामीबाट बिक्री गर्न खोज्दा समेत नबिकेको ३ लाख ५६ हजार २ सय ९७ कित्ता सेयर बिक्रीका लागि पुनः लिलामीको सूचना निकालेको छ । 

यो पटक लिलामीबाट बिक्री गर्न खोजिएको सेयर सबै संस्थापक हुन् । यो बंैकले पहिलोपटक बैशाख २८ गते २ लाख ३४ हजार ३ सय १८ कित्ता साधारण र ३ लाख ८३ हजार २ सय ९७ कित्ता संस्थापक सेयर लिलामीमा निकालेको थियो । साधारण सेयर सबै लिलामीबाट बिक्री भए पनि संस्थापक सेयर भने २७ हजार कित्ता मात्र बिक्री भयो । यसकारण, बाँकी बिक्री भएको संस्थापक सेयर पुनः बिक्रीका लागि लिलामीमा राखिएको हो । 

देव विकास बैंकले आइतबार(आज)देखि लिलामीमा निकालेको यो सेयरमा आगामी असार १ गतेसम्म आवेदन दिनसकिनेछ । असार २ गते लिलामीको अन्तिम नतिजा प्रकाशन हुनेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम प्रतिकित्ताका लागि १ सय रुपैयाँ मूल्य लगाउनुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनैपर्नेछ । 

यो बैंकको सेयर लिलामीका लागि एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

बिक्री प्रबन्धकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा गएर लिलामीको प्रक्रियामा सहभागी हुन सकिने बताइएको छ । 

यो बैंकको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ सय ८१ रुपैयाँ रहेको छ ।