काठमाण्डौ । अझै पनि नेपाली समाजमा छोरा नजन्मिए वंश अगाडि बढ्दै भन्ने कुमान्यताले जरो गाडेकै अवस्था छ ।

यदि कुनै दम्पतीले पहिलो सन्तानका रुपमा छोरी जन्माए भने उनीहरुलाई दोस्रो सन्तान जन्माउन र त्यसमाथि छोरा नै जन्माउनुपर्छ भन्ने दबाब पर्न थाल्छ। ‘तर छोरा वा छोरी के जन्मिन्छ हाम्रो हातमा हुँदैन’ यो कुरा अझै पनि नेपाली समाज धेरैजसोले बुझ्न सकेका छैनन् ।

नेपालका कति ठाउँमा त छोरा जन्माउने आशामा १० भन्दा बढी सन्तान (छोरी) जन्माएका घटना पनि सुन्नमा आएका छन् । अझै कतिपयले छोरा जन्माउनकै लागि अनैतिक रुपमा गर्भमै लिंग पत्ता लगाएर छोरी भए ‘भ्रूणहत्या’ गर्नसम्म पछि पर्दैनन् । नेपालमा गर्भमै लिंग पत्ता लगाउन खोज्नु र पत्ता लगाउन सहयोग गर्नु दुवै गैरकानुनी छ ।

‘दुई सन्तान ईश्वरको बरदान’ भन्ने उक्तिलाई नेपाली समाजमा गलत तरिकाले बुझिएको छ । यसको अर्थ उनीहरुले दुई सन्तानका रुपमा एक छोरा र एक छोरीका रुपमा लिन्छन् । तर यो गलत हो । यो उक्तिको अर्थको हो छोरा होस् वा छोरी दुवै सन्तान बराबरी।

‘छोरी’ लाई हामी लक्ष्मीका रुपमा लिन्छौँ । छोराभन्दा पनि छोरी आफ्ना आमाबाबुलाई धेरै माया गर्छन् भन्ने मान्यता पनि छ ।

छोरीकै कुरा गर्दा एउटा नयाँ तथ्य सार्वजनिक भएको छ । पोल्यान्डको जेगिलोनियन युनिभर्सिटीका शोधकर्ताहरुले छोरी भएका बाबुको आयु लामो हुने तथ्य सार्वजनिक गरेका हुन् । उनीहरुको दाबी छ छोरी नहुने भन्दा छोरी हुने बाबुको आयु लामो हुन्छ ।

अध्ययनले सामान्य अवस्थामा छोरामात्र हुने बाबुको आयुमा खासै भिन्नता नदिए पनि छोरी हुने बाबुको आयु भने छोरामात्र हुनेका बाबुभन्दा ७४ हप्ता बढी आयु हुने देखिएको छ ।

अध्ययनले छोरीको संख्या जति बढी छ बाबुको आयु पनि त्यति नै बढ्दै जाने दाबी पनि गरेको छ ।

युनिभर्सिटीका शोधकर्ताहरुले बालबच्चा भएका बाबुहरुको उमेर र स्वास्थ्यावस्थाबारे ४ हजार ३१० जनालाई आफ्नो सर्भेमा समावेश गरेको थिया । जसमा २ हजार १४७ आमा र २ हजार १६३ बाबु थिए ।

शोधकर्ताहरुको दाबी छ कि उनीहरुको अध्ययन विश्वमै पहिलोपटक भएको हो। यसमा बच्चा जन्मिएपछि आमाको स्वास्थ्य र आयुको पनि अध्ययन गरिएको थियो ।

अध्ययनले छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने बाबुको आयु कम हुने गरेको देखाएको छ ।

अध्ययनले छोरा वा छोरी हुने आमाको आयु र स्वास्थ्य भने बाबुको तुलनामा केही कम हुने दाबी गरेको छ । यो अध्ययनलाई कतिपय शोधकर्ताहरुले भने पूर्ण नभएको बताउँछन् । सीमित संख्यामा गरिएको यो अध्ययनले खासै उल्लेखनीय प्रगति हासिल नगरेको उनीहरुको भनाइ छ । –एजेन्सी