काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्थाले भदौ ५ गतेदेखि खुलाएको आइपीओका लागि पहिलो दिनमै मागभन्दा २२ गुणा बढी आवेदन परेको छ । 

यो संस्थाले १ सय रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गरेको हो । आइपीओमा पहिलो दिन नै मागभन्दा २२.०४ गुणा आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटलले जनाएको छ । 

एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडको मर्चेन्ट बैकिंग प्रमुख बद्री प्याकुरेलका अनुसार पहिलो दिन देशभरका संकलन केन्द्रबाट १७ हजार आवेदन संकलन भएका छन् । पहिलो दिन नै ४ करोड मूल्यको आइपीओका लागि ८२ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको उनले प्रष्ट्याए । 

आइपीओका लागि भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदनको समय अझै बाँकी रहेकोले अझ धेरै आवेदन पर्नसक्ने देखिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले ८ हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, २० हजार कित्ता सेयर ७ वटा सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७२ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले चुक्तापूँजी बढाउन आइपीओ निश्कासन गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी ६ करोड रुपैयाँ रहेको छ र आइपीओको व्यवस्थापनपछि चुक्तापूँजी १० करोड पुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ । 

आइपीओ निश्कासनपछि यो संस्थामा  प्रोमोटर पब्लिक सेयर संरचना ६० : ४० को बन्ने छ । 

यो संस्थाले आर्थिक वर्ष २०७२ ७३ मा  १ करोड ५० लाख खूद नाफा आर्जन गरेको छ । 

नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो संस्थाको आइपीओलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ ।