काठमाण्डौ । सेयरमा लगानीप्रति सर्वसाधारणको आकर्षण अचाक्ली बढेको छ । प्रमाणको रुपमा आरएसडिसी बित्तीय संस्था लिमीटेडको आइपीओ भर्न तछाडमछाड गर्दै उर्लिएको मानवसागरलाई लिन सकिन्छ । लम्बेतान लाइनमा घामपानी सहदै आइपीओको आवेदन पर्न कस्सिएका लगानीकर्ताले आफूहरुसँग पूँजी भए पनि राज्य तथा निजी क्षेत्रले लगानीको उपयुक्त वातावरण नबनाएको गुनासो गरेका छन् । 

लगानीकर्तासँग हातमा पूँजी भएर पनि लगानी गर्ने ठाउँ खोजिरहेका प्रमाण समेत हो आरएसडिसीको आइपीओमा देखिएको मानवसागर । 

यो संस्थाले १ सय रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि आवेदन आह्वान गरेको हो । आइतबारदेखि खुलाइएको आवेदन भर्न हरेक दिन संकलन केन्द्रहरुमा लगानीकर्ताको निकै लामो लाइन लाग्ने गरेको छ । 

आज(बुधबार) आइपीओमा आवेदन दिने अन्तिम दिन संकलन केन्द्रहरुमा अझ ठूलो भीड देखिएको छ । मंगलबार(तेश्रो दिन)सम्मको अवस्था हेदा पनि यो कम्पनीको आइपीओमा अचाक्ली आवेदन परेको देखिएको छ । 

तेश्रो दिनसम्ममा १०१.६१ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबी क्यापिटलले जनाएको छ । 
४ करोड रुपैयाँको आइपीओमा दोश्रो दिन(सोमबार)सम्ममा करिब २ अर्ब रुपैयाँको आवेदन परिसकेको थियो । तेश्रो दिन(एकै दिन) १ अर्ब ७८ करोड रुपैयाँको आवेदन थपिएर मंगलबारसम्ममा कुल ३ अर्ब ७८ करोडको आवेदन परेको हो । 
आइपीओका लागि देशभरका संकलन केन्द्रहरुबाट करिब ८३ हजार आवेदन परेका बताइएको छ । 

बुधबार आवेदन दिने अन्तिम दिन भएकोले आवेदन केन्द्रहरुमा बिहानैदेखि लामो लाइन लागेको छ । यसले पनि आइपीओमा आवेदकको संख्या अझ बढ्नसक्ने देखिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले ८ हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, २० हजार कित्ता सेयर ७ वटा सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७२ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले चुक्तापूँजी बढाउन आइपीओ निश्कासन गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी ६ करोड रुपैयाँ रहेको छ र आइपीओको व्यवस्थापनपछि चुक्तापूँजी १० करोड पुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ । 

आइपीओ निश्कासनपछि यो संस्थामा  प्रोमोटर पब्लिक सेयर संरचना ६० : ४० को बन्ने छ ।

आरएसडिसीको आइपीओमा आवेदन दिन आतुर लगानीकर्ताहरु हेर्न तलको फोटोहरुमा क्लिक गर्नुहोस् ।