काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमीटेडले ४ लाख कित्ताका लागि खुलाएको आइपीओमा २२३ गुणा बढी आवेदन परेको छ । 

यो संस्थाले १ सय रुपैयाँ अंकित मूल्यको ४ करोड रुपैयाँको आइपीओ खुलाएकोमा करिब ८ अर्ब २९ करोड बराबरको आवेदन परेको हो । भदौ ५ गतेदेखि ८ गतेसम्म देशभरका संकलन केन्द्रबाट कुल करिब १ लाख ५८ हजार आवेदन परेका बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटलले जनाएको छ । 

आइपीओमा आवेदन खुलाइएको पहिलो दिन(भदौ ५ गते) २२ गुणा बढीको आवेदन परेको थियो । सो दिन कुल १७ हजारले आवेदन दिएका थिए । यसैगरी, भदौ ६ गते दोश्रो दिनसम्म २५ हजार ५ सय, तेश्रो दिन ४० हजार र अन्तिम दिन अर्थात भदौ ८ गते ७५ हजार ५ सय आवेदन परेको बताइएको छ । सबैभन्दा बढी आवेदन अन्तिम दिन परेको थियो । सो दिन परेको आवेदन मात्र माग गरिएको भन्दा १२२ गुणा बढी थियो । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले ८ हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, २० हजार कित्ता सेयर ७ वटा सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७२ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले चुक्तापूँजी बढाउन आइपीओ निश्कासन गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी ६ करोड रुपैयाँ रहेको छ र आइपीओको व्यवस्थापनपछि चुक्तापूँजी १० करोड पुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ । 

आइपीओ निश्कासनपछि यो संस्थामा  प्रोमोटर पब्लिक सेयर संरचना ६० : ४० को बन्ने छ ।