काठमाण्डौ । आरएसडिसी लघुवित्तले आगामी असार १७ गतेदेखि ५ बराबर ३ को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाउने भएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित दरका २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद निश्कासन गर्ने भएको हो ।

इच्छुक सेयरधनीले असार १७ गतेदेखि साउन २० गतेसम्म हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् ।

आरएसडिसीले हकप्रद प्रयोजनका लागि जेठ २१ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ जेठ २० गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

हाल यो कम्पनीको चुक्तापूँजी ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर ५७ करोड ५९ लाखको उचाईमा पुग्नेछ ।

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीले एनआइबिएल एस क्यापिटलको लाजिम्पाटस्थित मुख्य कार्यालय तथा आस्वाको सदस्य रहेका बैंक तथा बित्तीय संस्थाका सबै शाखा कार्यालयमा गएर दरखास्त दिन सक्नेछन् ।

आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ करोड ३० लाख खूद नाफा आर्जन गरेको थियो । हाल यसको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ५५० रुपैयाँ रहेको छ ।