काठमाण्डौ । नेपाल राष्ट्रबैंकले रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजिएस) प्रणालीमा नियमित विजिनेश डे सेड्यूल संचालन गर्ने भएको छ । 

राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो । 

विभागका अनुसार असोज ४ गते(आज)देखि नै नयाँ सेड्यूल अनुसार आरटिजिएसको सेवा संचालन गर्नुपर्नेछ । जसअनुसार आइतबार बिहीबारदेखि नर्मल विजिनेश डे (बिहान १०ः३० बजेदेखि ३ बजेसम्म कस्टूमर तथा इन्टरबैंक कारोबार तथा ३ बजेदेखि ३ः४० सम्म इन्टरबैंक कारोबार) संचालन हुनेछ । 

यस्तै, शुक्रबार भने फ्राइडे विजिनेश डे संचालन गर्नुपर्नेछ । यस अन्तर्गत बिहान १०ः३० बजेदेखि दिउँसो १ बजेसम्म कस्टूमर तथा इन्टरबैंक कारोबार संचालन हुनेछ । 

चेक क्लियरिङमा हुने ढिलाई अन्त गर्दै राष्ट्रबैंकले २०७६ भदौ २५ गतेदेखि रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजिएस) प्रणाली लागू गरेको थियो । यो प्रणाली लागू भएसँगै कारोबार भएको वास्तविक समयमै चेकमार्फत जम्मा भएको रकम तुरुन्तै खातामा आउन थालेको छ । 

यो प्रणाली कार्यान्वयनमा आएपछि कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि चेक काट्नु नपर्ने व्यवस्था समेत लागू भएको छ ।

आरटिएस प्रणालीबाट भुक्तानी राफसाफ गर्दा तिर्नुपर्ने शुल्क समयअनुसार निर्धारण गरिएको छ । यसअघि राष्ट्र बैंकले हालको कार्यालय समयलाई तीन भागमा बाँडेर शुल्क निर्धारण गरेको थियो । बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म प्रतिकरोबार १० रुपैयाँ लाग्नेछ । त्यस्तै, साढे २ बजेसम्मको कारोबारको २० रुपैयाँ लाग्ने गरेको छ । त्यसपछि कारोबार राफसाफ नहुने व्यवस्था थियो । यो समयमा अन्तर बैंक हिसाब मिलान बताइएको थियो ।