काठमाण्डौ । चार दिनअघि मृत्यु भएका डोल्पाका एक ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

डोल्पाको जगदुल्ला गाउँपालिका वडानम्बर ३ का स्थायीबासी ती पुरुष जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका थिए । उनको २० गते मृत्यु भएको थियो । 
मृत्युपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गराइएकोमा रिपोर्ट पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको छ । 

ती पुरुषमा लामो समयदेखि दमको समस्या थियो । सुर्खेतबाट डोल्पास्थित घर फर्किने क्रममा समेत मौरे भन्ने ठाउँमा उनी गम्भीर बिरामी परेका थिए । जेठ १८ गते उनको डोल्पामै आरडिटी परीक्षण गरिएको थियो । तर, रिपोर्ट नेगेटिभ देखिएपछि घर लगिएका उनको जेठ २० गते साँझ मृत्यु भएको थियो । 

मृत्युपछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डाक्टर मंगल रावलले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मृतकको रिपोर्ट पोजिटिभ आएपछि उनी रहेको वडा, सिंगो गाउँपालिका, सुर्खेतमा केही दिन उनी बसेका क्वारेन्टिन लगायतलाई नै सिल गरिएको छ । उनका सम्पर्कमा आएकाहरुको पहिचान गर्न सुरु गरिएको र उनीहरुको समेत पीसीआर टेस्ट हुने बताइएको छ ।