काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि आवश्यक शैक्षिक योग्यताको दायरा केही फराकिलो बनाइएको छ । 

नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४ को विनियम ५ को खण्ड(ख)को उपखण्ड (अ)मा संसोधन गरेर शैक्षिक योग्यता दायरा केही फराकिलो बनाएको हो ।

अब ग्रामीण विकास, कृषि र समाजशास्त्र बिषयमा स्नातक हासिल गरी बैकिंग वा बित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्टिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा तीनवर्षको कार्यानुुभव हासिल गरेको व्यक्ति पनि अब प्रमुख कार्यकारी अधिकृत र संचालक हुन पाउनेछ ।

यसअघि चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैकिङ, बित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन र कानून बिषयमा स्नातक हुने मात्र क, ख, ग र घ वर्गको बैंक तथा बित्तीय संस्थाको सीइओ तथा संचालक हुन पाउने व्यवस्था थियो ।