काठमाण्डौ । रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)का पूर्व गभर्नर रघुराम राजनले कोरोनाविरुद्धको लडाई लडिरहेका विश्वभरका सरकारहरुलाई सुझाव दिंदै भनेका छन् कि विज्ञहरुको साथ लिएर अगाडि बढ्दा मात्र परिणामुखी नतिजा पाउन सकिन्छ । उनले यो लडाईमा विपक्षी दलका मानिसहरुलाई समेत सहभागी गराउन आह्वान गरेका छन् । 

उनको भनाईमा विश्वका धेरै देशहरुले हालसम्मकै ठूलो र अत्यासलाग्दो आर्थिक मन्दीको सामना गरिरहेका छन्, जसबाट उम्किन त्यति सहज छैन । 

राजनले भारतको अर्थतन्त्रमा बढी फोकस हुँदै मोदी सरकारलाई समेत कतिपय महत्वपूर्ण सुझाव दिएका छन् । राजनको भनाईमा प्रधानमन्त्री कार्यालयमा पहिलादेखि नै थुप्रिएका कामहरुको बोझले थिचिएकाहरुलाई कोरोना विरुद्धको लडाईमा समेत सबै काम गराइएमा त्यसको प्रभाव कम हुनसक्छ । बरु, विपक्षमा रहेका दल तथा मानिसहरुको समेत मद्धत लिनुपर्छ, जोसँग यस्ता संकटबाट पार पाउने अनुभव होस् वा कुनै विद्धता । 

सन् २००८–०९ को विश्व आर्थिक मन्दीको बेला डिमाण्डमा भारि गिरावट आएको थियो, तर भारतीय कम्पनीहरुको ग्रोथ भने प्रत्येक वर्ष बढ्दै गयो । त्यतिबेला भारतको फाइनान्सियल सिस्टम मजबुत रहेको उल्लेख गर्दै राजनले अहिलेको अवस्था त्यस्तो नरहेको र सारा विश्व कोरोना भाइरससँग लडिरहेकोले धेरै कुरामा चनाखो भएर सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । 

राजनको भनाईमा यस्तो बेलामा प्रत्येक देशले आफूसँग भएको संसाधन तथा शक्तिको बढीभन्दा बढी उपयोग गर्दै सही समाधान निकाल्ने र प्राथमिकता तय गर्नु महत्वपूर्ण हुन्छ । यसो गर्न सकियो भने मात्र कोरोना भाइरसलाई हराउन सकिने उनको दाबी छ । ‘साथै भविष्यका लागि नयाँ आशाको मञ्च समेत तयार गर्न सकिनेछ ।’ उनले भनेका छन्–‘यस्ता कोशिशहरुले कोरोना भाइरसबाट हुने आर्थिक असरको समेत उपचार गर्न सक्छन् ।’ 

यस्तो बेला धेरै भन्दा धेरै टेस्ट गरेर भाइरसको संभावित फैलावटलाई रोक्न सकिने उनको सुझाव छ । उनका अनुसार सबै देशका नागरिकहरुले क्वारेन्टाइन र सामाजिक दूरी कायम गराउने विषयलाई सशक्त ढंगले व्यवहारमा लागू गर्नुपर्छ । 

राजनले विश्वका सबै देशहरुले लकडाउनपछिको योजना समेत अब बनाउन थालिहाल्नु श्रेयस्कर हुने सुझाव दिएका छन् । ‘यदि भाइरसको असर सकिएन नै भने पनि के गर्ने ? भन्ने विषयमा अब सोचिन आवश्यक छ । किनभने कुनै पनि देशलाई लामो समयसम्म लकडाउनमा राखिरहन सकिन्न । यसकारण हामीले सोच्नुपर्छ कि आवश्यक सावधानी अपनाएर कम संक्रमण भएका क्षेत्रहरुमा कतिपय गतिविधि कसरी सुरु गर्ने भनेर ।’ राजनले भनेका छन्–‘कार्यक्षेत्र नजिकैको होस्टलहरुमा रहने स्वस्थ युवाहरुबाट यो कार्यको सुरुवात गर्न सकिन्छ ।’ 

राजनको भनाईमा यस्तो बेला गरीब र जागिर नखाने मध्यम वर्गीय मानिसहरुको विषमा विशेष ख्याल गरिन आवश्यक छ । डाइरेक्ट बेनिफिट ट्रान्सफरको फाइदा सबैलाई प्राप्त हुँदैन, किनकि जति रकम र राहात दिइराखिएको छ, त्यो एकमहिनाका लागि पर्याप्त छैन।

उनले उद्योगहरुको कुरा गर्दै भनेका छन् कि कैयन साना तथा मझौला कारोबारी पहिलादेखि नै हैरानी व्यहोरिरहेका छन्, तिनीहरुसँग पर्याप्त स्रोत छैन । ‘यिनीहरुमध्ये सबैलाई बचाउन संभव हुन्न, किनभने हामीसँग वित्तीय स्रोत तथा संसाधन सीमित छ र बजेटलाई समेत केन्द्रमा राखेर काम गर्नुपर्ने हुन्छ ।’ नेपाल सरकारलाई समेत उपयोगी हुने सुझाव दिएका राजनले भनेका छन्–‘यस्तो बेलामा गैरजरुरी खर्च बन्द गर्नुपर्छ । राजनले ठूला कम्पनीहरुलाई आफ्ना साना सप्लायरहरुलाई सहयोग गर्ने गरी अगाडि आउन समेत आह्वान गरेका छन् ।’

सुझाव खासगरी मोदी सरकारलाई दिएका भए पनि यो विषय नेपाल सरकारलाई समेत काम लाग्छ । केन्द्रीय बैंकदेखि सरकारसम्मले घोषणा गरेका राहात प्याकेजमा समेत भारतकै मोडलसँग मिल्दोजुल्दो कार्यक्रम ल्याएको नेपाल सरकारका लागि आरबीआईका पूर्व गभर्नरको सुझाव निकै उपयोगी हुनसक्छ ।