काठमाण्डौ । उर्जित पटेलले अचानक राजीनामा दिएको भोलिपल्टै भारतको केन्द्रीय बैंकको गभर्नरको रुपमा सरकारले पूर्व वित्त सचिव तथा बित्त आयोगका सदस्य शक्तिकान्त दासलाई नियुक्त गरेको छ । 

भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)को गभर्नरबाट उर्जित पटेलले सोमबार अचानक राजीनामा दिएका थिए । उनको राजीनामासँगै नेपाली रुपैयाँ केही कमजोर समेत बनेको थियो । 

पटेलको राजीनामासँगै सरकारले सोमबार साँझ नै नयाँ गभर्नरको खोजीका लागि एक समिति बनाएको थियो । त्यसबेलादेखि नै नयाँ गभर्नरको रुपमा दासको चर्चा सुरु भएको थियो । 

भारतीय रिजर्ब बैंकको गभर्नरको रुपमा आएका दासले इतिहासमा एमएमसम्मको अध्ययन पूरा गरेका छन् । उनी भारतको राजश्वसचिव, आर्थिक मामलाका सचिव एवम् उर्वरा सचिव भइसकेका व्यक्ति हुन् । दासले मोदीको नोटबन्दीको कार्यक्रममा विशेष भूमिका निर्वाह गरेका थिए । 

केन्द्रीय आर्थिक मामलाका सचिवको रुपमा आफ्नो कार्यकालको दौरान दासलाई भारतको सबैभन्दा शक्तिशाली व्यक्तिमध्येका एक मानिन्थ्यो । केही समयअघि उनी प्रधानमन्त्री नरेन्द्र मोदीको साथमा जी ट्वान्टी सम्मेलनमा सहभागी हुन समेत गएका थिए । 

विगत केही महिनादेखि नै उर्जित पटेलको राजीनामाको चर्चा हुँदै आएको थियो । वित्त मन्त्रालय तथा रिजर्ब बैंक अफ इण्डियाबीच लामो समयदेखि टकराव भइरहेको थियो । सरकारले आरबीआईको रिजर्ब फण्ड आफूहरुका लागि खुल्ला गरिदिन नियमित दवाब कायम गरिरहेको थियो भने तर आरबीआई यसको विपक्षमा थियो । 

आरबीआईका तत्कालीन गभर्नर रघुराम राजनको कार्यकाल सकिएपछि पटेललाई मोदी सरकारले नै गभर्नरमा चयन गरेको थियो । तर, मोदी सरकारसँग उनको ट्यूनिङ मिल्न सकिरहेको थिएन । पटेल १९९० पछिका त्यस्ता पहिलो गभर्नर हुन्, जसले कार्यकाल नसकिदै पद छाडे ।