काठमाण्डौ । आरम्भ लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १५२.२९ प्रतिशतले बढाउन सफल भएको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्ष यही अवधिमा १ करोड ५ लाख रुपैयाँमा सीमित थियो ।

संस्थाले समीक्षा अवधिमा ४ करोड १६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

त्यस्तै दोस्रो त्रैमास संस्थाले ७ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा संस्थाले ५९ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ३३ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले रिजर्भको आकार १२२.२२ प्रतिशतले बढाएको छ । गत वर्ष २ करोड ५४ लाख रुपैयाँ रहेको रिजर्भमा यो वर्ष बढेर ५ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासमा संस्थाको चुक्तापुँजी १९ करोड २ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष यही अवधिमा १८ करोड ६० लाख रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २६.६६ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात १६.२७ रहेको छ ।