काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा १२.९४ प्रतिशतले बढाउन सफल भएको छ। 

चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड ८५ लाख रुपैयाँमा सीमित थियो। 

यो त्रैमासमा संस्थाले ५ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४ करोड ५५ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत १८ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष ९ करोड ५३ लाख रुपैयाँ रहेको थियो। यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक रहेको देखाउँछ।

संस्थाले समीक्षा अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ सापटी लिई २ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले ९० करोड सापटी लिई १ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाले ५८४.९१ प्रतिशतले रिजर्भको आकार बढाएको छ। अघिल्लो वर्ष १ करोड १ लाख रुपैयाँको रिजर्भ ७ करोड २ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

संस्थाको चुक्तापुँजी २६ करोड ३४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष चुक्तापुँजी १९ करोड ९० लाख रुपैयाँ रहेको थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.२५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) भने ३८.११ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ ११५.९८ रुपैयाँ रहेको संस्थाको कुल सम्पत्तिमा प्रतिफल भने १.२१ प्रतिशत रहेको छ।