काठमाण्डौ । हामी सबै आरामदायी र सुनिश्चित रिटायरमेन्टको कामना गर्छौं । आफ्नो रिटायरमेन्टको सुरुआती दिनहरु तपाइँ आफ्ना परिवारजन र साथीभाइसँग विभिन्न ठाउँमा घुमफिर गरेर मज्जा लिन चाहनुहुन्छ । अनि बाँकी दिन आरामदायी र सुखमय तरिकाले बिताउन चाहनुहुन्छ ।

तपाइँको योजना चाहे जे भए पनि रिटायरमेन्टपछिको आरामदायी लाइफ स्टाइलका लागि राम्रै पैसाको व्यवस्था गर्नुपर्छ र यसका लागि तपाइँले जागिरे जीवनमै बचतको राम्रो योजना बनाउन जरुरी हुन्छ । तपाइँले आफ्नो आम्दानीबाट बचेको पैसा केही यस्ता ठाउँमा राख्नुपर्छ वा लगानी गर्नुपर्छ जसबाट पछि राम्रो रिटर्न होस् । तर लापरबाही र बिना योजना यदि तपाइँले गलत ठाउँमा बचतको पैसा लगानी गर्नुभयो भने त्यसले तपाइँको रिटायरमेन्ट जीवन खल्लो बनाउन सक्छ। 
त्यसैले रिटायरमेन्टसँग जोडिएका आम गल्तीहरु र त्यसबाट बच्न सकिने तरिकाका बारेमा पनि बुझ्न जरुरी हुन्छ। 

रिटायरमेन्ट प्लानिङमा ढिलाइ गर्नु : हालै गरिएको एक अध्ययनले जीवनको महत्वपूर्ण र अनिवार्य रियायरमेन्ट प्लानका बारेमा प्रायः मानिस ध्यान दिँदैनन् । निकै कम मानिसमात्र रिटायरमेन्ट प्लानका लागि आफ्नो आम्दानीबाट नियमित बचत गर्छन् । बाँकी मानिस रिटायरमेन्ट प्लानका लागि अझै समय बाँकी छ भन्दै वा आम्दानी बढेपछि मात्र यसबारे सोचौँला भनेर पन्छिने गरेको अध्ययनले देखाएको छ । तर यस्तो गर्नु र सोच्नु गलत हो किनकि समय चाँडै ढल्किन्छ र राम्रो रिटायरमेन्ट प्लानबाट हुन सक्ने लाभबाट पनि वञ्चित हुन सक्नुहुन्छ । 

आफ्नो रिटायरमेन्ट प्लानको सुरुआत गर्ने सबैभन्दा राम्रो समय भनेको तपाइँको जागिरे जीवनको सुरुआती अवस्थामा नै हो। यदि तपाइँ जागिरदार हुनुहुन्छ र अझै रिटायरमेन्ट प्लान बनाउनुभएको छैन भने आजैबाट प्लान बनाउनु उपयुक्त समय हुन्छ । आम्दानी बढ्ने, प्रमोसन हुने वा सही समयको प्रतीक्षा नगर्नुहोस् । आजैबाट रिटायरमेन्ट प्लान बनाउनुहोस् र आफ्नो तलबी खाताबाट कट्टा हुने गरी सोझै उपयुक्त लगानी गर्ने ठाउँमा जम्मा गर्नुहोस् । यदि तपाइँसँग प्रशस्त समय छ भने जोखिम मोलेर म्युचुअल फन्ड, ऋणपत्र, विभिन्न सेयर, इन्स्युरेन्स, लङ टर्मका अन्य वित्तीय उपकरणहरु आदिमा लगानी गर्ने सोच बनाउनु सक्नुहुन्छ।

रिटायरमेन्ट फन्डबाट पैसा निकाल्नु : युवा वा कामकाजी मानिसले गर्ने सबैभन्दा ठूलो गल्ती भनेकै आफ्नो लाइफ स्टाइल र दैनिक आवश्यकता पूरा गर्न उसले आफ्नो रिटायरमेन्ट फन्डबाट पैसा निकाल्नु हो । पछि भर्पाइ गरौँला भन्ने सोचेर आफ्नो रिटायरमेन्ट फन्डबाट पैसा निकाल्नुले तपाइँको प्रगतिमा धेरै असर गर्न सक्छ । आफ्नो रिटायरमेन्ट फन्डबाट विभिन्न ग्याजेटस् वा सवारीसाधन नकिन्नुहोस् किनकि यस्ता वस्तु पछि बेच्दा आफूले चाहेको मूल्य पाउनुहुन्न । त्यस्तै रिटायरमेन्ट फन्डबाट दैनिक आवश्यकताका वस्तु खरिद र यात्रा पनि नगर्नुहोस् । यी चिजमा खर्च गरिएको पैसा कहिल्यै फिर्ता हुँदैन । 
याद राखौँ : सम्मानजनक रिटायरमेन्ट प्लानिङका लागि बचत गरिएको पैसा भविष्यमा राम्रो आम्दानी हुने ठाउँमा मात्र लगानी गरौँ । यो पैसालाई अनावश्यक वस्तुमा खर्च नगरौँ । 

विनालक्ष्यको बचत: रिटायरमेन्ट प्लानिङ लक्ष्यमा आधारित काम हो । यदि तपाइँ विना लक्ष्य रिटायरमेन्ट जीवनका लागि बचत र लगानी गरिराख्नुभएको छ भने तपाइँ गल्ती गरिहनुभएको छ । विनालक्ष्यको बचतले अप्रिय परिणाम निम्त्याउन सक्छ । जस्तै भविष्यको रिटायरमेन्ट जीवनका लागि चाहिनेभन्दा बढी फन्ड जम्मा गर्दा वर्तमानमा तपाइँले दैनिक आवश्यकता पूरा गर्न ऋण लिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले सबैभन्दा पहिले तपाइँले आफ्नो खर्चको मूल्यांकन गर्नुपर्छ । त्यसपछि मात्र तपाइँ आफ्नो रिटायरमेन्ट प्लानिङका लागि आवश्यक रकम छुट्याउँदै जानुपर्छ । आफ्नो रिटायरमेन्ट जीवनका बेला हुने खर्चको प्लानिङ गरेरमात्र बचत गरिएको रकमलाई लगानी गर्ने सही ठाउँ रोज्नुपर्छ । यसले गर्दा पछि तपाइँको रिटायरमेन्ट जीवन आरामदायी ढंगले बिताउन राम्रो धनराशि तयार हुन सक्छ । 
फाइनाइन्सिल एक्सपर्टको सहयोगमा आफ्नो आम्दानी, उमेर र जोखिम क्षमतालाई ध्यानमा राखेर लगानी गर्ने ठाउँ रोज्नुहोस् ।

हेल्थ इन्स्युरेन्स : यदि तपाइँ जीवनभर राम्रो लाइफ स्टाइल बनाएर राख्न चाहनुहुन्छ भने तपाइँ आफ्नो उमेरअनुसार देखिन स्वास्थ्यसम्बन्धी समस्याबाट पनि सचेत हुन जरुरी हुन्छ । स्वास्थ्य समस्याका कारण तपाइँले धेरै खर्च गर्नुपर्ने हुन सक्छ, जसले सोझै तपाइँको रिटायरमेन्ट फन्डमा असर गर्न सक्छ । अझ रिटायरमेन्ट जीवनमा पनि तपाइँलाई स्वास्थ्य समस्याले पिरोल्न सक्छ । त्यति बेला तपाइँसँग भएको पुँजीले नधान्न पनि सक्छ । यस्तो अवस्थामा तपाइँले एउटा राम्रो हेल्थ इन्स्युरेन्स पोलिसी लिन जरुरी हुन्छ । जसले तपाइँलाई स्वास्थ्य समस्या आउँदा खर्चको भारबाट बच्न निकै मद्दत पुयाउँछ । 

सन्तानमा निर्भर : विशेषगरी नेपालजस्तो विकासोन्मुख मुलुकमा जब बाबु–आमा बूढाबूढी हुन्छन् तब उनीहरु आर्थिक रुपमा पनि सन्तानमा निर्भर बन्न पुग्छन् । यसो हुँदा उनीहरु आफ्नो सुखमय जीवनबाट वञ्चित हुन पुग्छन् । घुमफिर, खानपान र आवश्यक वस्तुको खरिद गर्दा पनि छोराछोरीको मुख ताक्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । जो जागिरदार थिए तर रिटायरमेन्ट प्लानिङ गरेनन्, ती पछि आफ्नो सन्तानमाथि निर्भर त हुन्छन् नै सन्तानलाई आर्थिक बोझ पनि बन्न पुग्छन् । 

त्यसैले जागिरको अवधिमै आम्दानीको केही हिस्सा बचत गरी राम्रो ठाउँमा लगानी गरेर आफ्नो रिटायरमेन्ट जीवनलाई आरामदायी र सुखमय बनाउनतिर लाग्नु नै बढी उत्तम हुन्छ । – एजेन्सीबाट