प्रश्न १ : तपाइँको उम्मेद्वारी कुन पदका लागि र किन ?
म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणासहित चुनावी मैदानमा उत्रिएको छु । मुस्लिमका लागि पार्टी विधानले एउटा निर्वाचित र अर्को मनोनीत गरी दुईवटा आरक्षण कोटाको व्यवस्था गरेको छ । म चाहि निर्वाचित तर्फको केन्द्रीय सदस्य पदका लागि मैदानमा आएको हुँ । 

 

प्रश्न  ​: तपाईका चुनावी एजेण्डा के हुन् ? जित्ने आधार के के छन् ?
मेरा चुनावी एजेण्डा स्पष्ट छन् । म चुनावको बेला तयार हुने कृत्रिम एजेण्डा र गुलिया कुराप्रति विश्वास गर्दिँन । मेरो उम्मेद्वारी नेपाली कांग्रेसलाई संस्थागत रुपमा एक बनाएर अगाडि बढ्नका लागि हो । नेपाली कांग्रेस देशकै ठूलो पार्टी भएको हिसाबले अब हाम्रै नेतृत्वमा देशले आर्थिक क्रान्तिको बाटो पक्रन सक्छ । मेरो चुनावी एजेण्डाको मुख्य नारा समेत आर्थिक क्रान्ति र आर्थिक समृद्धि हो । अब स्वदेशमै रोजगारी सिर्जना गर्ने आर्थिक नीति अवलम्बन गर्नुपर्छ, यसका लागि नेपाली कांग्रेसको भिजनलाई स्पष्ट बनाउन म महत्वपूर्ण भूमिकामा प्रस्तुत हुनसक्छु । आर्थिक रुपमा मुलुकलाई समृद्धिको बाटोमा लग्ने उद्देश्य कांग्रेसको मुख्य लक्ष्य हुनुपर्छ भन्ने मेरो मान्यता हो । अर्कोतर्फ, म नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय अध्यक्ष पनि हुँ । मैले दुई कार्यकाल अध्यक्ष चलाइसकेँ । मुस्लिम समुदायमा मुस्लिम संघको ४३ वटा जिल्लामा संगठन बिस्तार गरेको छु । यो नै मेरो जित्नसक्ने मूल आधार पनि हो । 

प्रश्न  ​: तपाइँ एक सफल व्यवसायी पनि हुनुहुन्छ । अन्य आर्थिक एजेण्डा चाहि के छन् ?
मुलुकमा जबसम्म औद्योगिक क्रान्ति हुन्न, तबसम्म मुलुक समृद्धिको बाटोमा हिँड्नै सक्दैन । आर्थिक क्रान्ति अबको अपरिहार्य आवश्यकता पनि हो । जबसम्म मुलुकमा उद्योगमैत्री वातावरण बन्न सक्दैन, तबसम्म औद्योगिक क्रान्ति संभव छैन । उद्योग कारखानाको विकासमा पनि हामीले निर्यात व्यापार बढाउनसक्ने आइटमहरुमा बढी जोड दिनुपर्छ । स्वदेशी र विदेशी पूँजीको मिश्रण गरी आयातमुखी अर्थतन्त्रमा व्यापक सुधार ल्याउने र निर्यातमुखी अर्थतन्त्रलाई मलजल गर्ने आर्थिक तथा औद्योगिक नीति बनाउन आवश्यक छ । मैले यी कुराहरुलाई स्पष्ट रुपमा आफ्ना एजेण्डाको रुपमा प्रस्तुत गरेको छु । निर्यातमुखी व्यापारमा नेपाललाई तीव्र रुपमा प्रवेश गराउनका लागि आवश्यक नीतिहरु बनाउने विषयमा म पार्टीमा सकारात्मक भूमिका खेल्नेछु । त्यसपछि नेपाली कांग्रेसको नीतिलाई सरकार र जनतासम्म पुर्याउन कोशिश गर्नेछौ । यत्ति काम गर्न सक्यौं भने औद्योगिक क्रान्ति सफल हुन्छ, यसको अर्थ भनेको आर्थिक क्रान्ति सफल हुनु हो, मुलुक समृद्ध बन्नु हो । यो नै मेरो मूल आर्थिक एजेण्डा हो । चुनावी नारा पनि यही हो । 

 

प्रश्न  ​: मतदाताका लागि केही सन्देश छन् ?
म गोरखाको मुसलमान हुँ । म नेपाली कांग्रेसमा विगत ३५ बर्षदेखि  निरन्तर क्रियाशील छु । अर्को कुरा म व्यवसायी पनि हुँ । मैले नेपाली कांग्रेसलाई अगाडि बढाउनका लागि हर तरहबाट सहयोग पनि गरिरहेको छु । यदि मैले नेपाली कांग्रेसमा जित्न सकेँ भने मैले घोषणा गरेका एजेण्डाहरुको अक्षरंश कार्यान्वयनमा दृढ रहनेछु । अहिले मतदाताहरुलाई आर्थिक प्रलोभनमा पार्ने गलत संस्कार समेत विकास भएको छ, यसतर्फ मतदाताहरुलाई सचेत रहन आग्रह गर्छु । मेरा मतदाता आर्थिक प्रलोभनमा नपरी मलाई एउटा विशुद्ध नेपाली कांग्रेसको इमानदार कार्यकर्ता भएको हिसाबले सहयोग गर्नुहुनेछ भन्ने आशा छ । अर्कोतर्फ, नेपाली कांग्रेसमा पहाडको मुसलमानले उम्मेद्वारी दिंदै गर्दा, सबैले मलाई माया गरेर सिंगो नेपाली कांग्रेस र मुलुकको आर्थिक विकासका लागि समेत सहयोग गर्नुहुनेछ भन्ने आशा सँगालेको छु । म पार्टीमा असल नीति र असल नेतृत्वका साथ अगाडि बढ्नसक्ने व्यक्ति हुँ । आरदणीय मतदातामाझ, आफ्नो अमूल्य मत दिई मलाई विजयी गराइदिनुहुन समेत हार्दिक आह्वान गर्न चाहन्छु ।