काठमाण्डौ । कुनै बेला यस्तो थियो, कसैलाई गाली गर्नुपर्दा बिहारजस्तो वा बिहारीजस्तो भनिन्थ्यो । विकासमा निकै पछाडि परेको भारतको नेपालसँग सीमा जोडिएको एउटा राज्यलाई हेयको दृष्टिले हेर्दै नेपालकै नेताहरुले समेत ‘बिहार जस्तो देश खत्तम हुन लाग्यो’ भन्थे । तर, अवस्था अब फेरिएको छ । 

नेताहरुले चाहे भने र गरे भने कुनै बेला भारतकै लागि लज्जाको बिषय बनेको बिहारजस्तो राज्यले पनि कसरी प्रगति गर्नसक्छ भन्ने कुरा पछिल्लो समय प्रमाणित भइरहेको छ । 

नेताहरुको इच्छाशक्ति र सुशासनकै कारण बिहार एकपटक फेरि विश्वभर चर्चाको विषय बनेको छ । भारतका राज्यमध्ये आर्थिक वर्ष २०१७–१८ मा बिहारको जीडीपी ग्रोथ सबैभन्दा उच्च रहेको खबर बाहिरिएसँगै विश्वको आर्थिक मञ्चमा बिहार फेरि एकपटक बहसको बिषय बन्नसक्छ ।

आर्थिक विकासको दौडमा बिहारले भारतको गुजरात, महाराष्ट्र, आन्ध्र प्रदेशजस्ता दिग्गज राज्यलाई नै पछाडि पारिदिएको रिपोर्ट सार्वजनिक भएको हो । 

रेटिङ एजेन्सी क्रिसिलका अनुसार बित्त वर्ष २०१७–१८ मा बिहार सबैभन्दा तीव्र गतिमा विकास गर्ने राज्य बन्न सफल भयो । यो वर्ष बिहारको जीडीपी ग्रोथ ११.३ प्रतिशतभन्दा बढी रहेको बताइएको छ । 

क्रिसिलले हालै भारतका १७ राज्यको जीडीपी रेटिङ सार्वजनिक गरेको हो । 

यो रेटिङमा आन्ध्र प्रदेश दोश्रो र गुजरातलाई तेश्रो स्थान प्राप्त भएको छ । यो रेटिङमा विशेष राज्यको दर्जा पाउने भारतका अन्य राज्यलाई भने सामेल गरिएको छैन । 

आन्ध्र प्रदेशको विकास दर ११.२  र गुजरातको विकास दर ११.१ प्रतिशत रहेको बताइएको छ । 

क्रिसिलको रिपोर्टमा भनिए अनुसार २०१७–१८ को दौरान १७ राज्यको समीक्षा गरिएको थियो । त्यसमा १२ राज्यको विकास दर बढेको छ । जीडीपीको मामलामा झारखण्ड, केरेला र पञ्जाब सबैभन्दा पछाडि परेका छन् । 

यो क्रममा गुजरात, कर्नाटकले विकास, महंगी र वित्तीय घाटाको मोर्चामा निकै राम्रो प्रदर्शन गरेका थिए । गुजरात र कर्नाटकमा उत्पादन बढेपछिको सकारात्मक असर विकासदरमा देखियो। मध्यप्रदेशको विकासको मुख्य आधार कृषि क्षेत्र हो ।