काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १९.२ प्रतिशत र कर्जा प्रवाह २० प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक २०७५/७६ को वार्षिक आर्थिक गतिविधि समेटेर तयार पारेको प्रतिवेदनले यस्तो देखाएको हो । आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७० अनुसार तयार पारिएको प्रतिवेदन उपत्यकासहित ५७ जिल्लामा गरिएको स्थलगत सर्वेक्षण र सरोकारवालासँगको अन्तक्र्रियामा आधारित छ । प्रतिवेदनले अध्ययन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको औसत कर्जा–निक्षेप अनुपात ८७.६ प्रतिशत रहेको देखाएको छ ।

अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा काठमाण्डौ क्षेत्रको अंश ६८.१ प्रतिशत छ भने कुल कर्जामा यस क्षेत्रको अंश ५१.२ प्रतिशत छ ।
प्रतिवेदनमा यी ५७ जिल्लाको कृषि, उद्योग र सेवा क्षेत्रमा समीक्षा वर्षको स्थिति तथा आगामी आर्थिक वर्षको परिदृश्यलगायत यी क्षेत्रमा देखिएका चुनौतीको संक्षिप्त चर्चा गरिएको छ ।

समीक्षा वर्षमा अध्ययनमा समेटिएका ५७ जिल्लामा खाद्य तथा अन्य बालीले ढाकेको भूक्षेत्रमा परिवर्तन नभए पनि उत्पादन ५ प्रतिशतले बढेको प्रतिवेदनमा देखिएको छ । प्रमुख खाद्यान्न बालीमध्ये धान उत्पादन ९.५ प्रतिशत, गहुँ उत्पादन १.० प्रतिशत र जौउत्पादनमा १०.१ प्रतिशतले वृद्धि भएको छ भने मकै उत्पादन ०.९ प्रतिशत र कोदो उत्पादन ०.६ प्रतिशतले घटेको छ ।

त्यसैगरी समीक्षा वर्षमा तरकारी उत्पादन १.६ प्रतिशतले घटेको छ ।

पशुजन्य उत्पादनअन्तर्गत दुध उत्पादन ३.३ प्रतिशत, मासु उत्पादन १.६ प्रतिशत र अण्डा उत्पादन ४.३ प्रतिशतले वृद्धि भएको छ । ऊन उत्पादनमा २.९ प्रतिशतले कमी आएको छ ।

वनजन्य उत्पादनअन्तर्गत काठको उत्पादन १५.९ प्रतिशतले वृद्धि भएको छ।

अध्ययन क्षेत्रअन्तर्गतका बैंक तथा वित्तीय संस्थाले कुल प्रवाहित कर्जाको ५.७ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

त्यस्तै समीक्षा वर्षमा नमुना छनोटमा परेका प्रमुख उद्योगको क्षमता उपयोग ५७.१ प्रतिशत रहेको छ ।

औद्योगिक उत्पादनमध्ये सिमेन्ट, रंग, कंक्रिट, तोरीको तेल, भटमासको तेललगायतको उत्पादनमा वृद्धि भएको छ भने चामल, चाउचाउ, चिरेको काठ, विजुलीका तार र केबुल लगायतका वस्तुको उत्पादनमा ह्रास आएको छ ।

अध्ययन क्षेत्रअन्र्तगतका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३७.३ प्रतिशत रहेको छ ।

सेवातर्फ समीक्षा वर्षमा पर्यटक आगमन २४.१ प्रतिशतले बढेको छ । पर्यटकस्तरीय होटल तथा लजको संख्या १५.५ प्रतिशत र शय्या संख्या २०.६ प्रतिशतले बढेको छ ।

घरजग्गा रजिष्ट्रेशन संख्या ४.७ प्रतिशतले घटे पनि रजिष्ट्रेशनबापतको राजस्व ६.१ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा यातायातका साधनको संख्या १९.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल टेलिकम, एनसेल तथा अन्य कम्पनीबाट वितरण गरिएको मोवाईल तथा ल्याण्ड–लाइन टेलिफोनको संख्यामा ५.६ प्रतिशतले वृद्धि भएको छ ।