काठमाण्डौ । बेलायतमा अक्टोबरदेखि दर्शकहरु खेलमैदानमा आएर खेल हेर्न सक्ने भन्ने योजना तुहिएको छ। यसका साथै बेलायतका खेलमैदानहरु अझै ६ महिनासम्म दर्शकविहीन बन्ने भएका छन्।

बेलायतका प्रधानमन्त्री जोन बोरिसनले देशमा कोरोना संक्रमणका केसहरु तीव्रगतिमा वृद्धि भइरहेकाले अक्टोबर १ गतेदेखि खेलमैदानमा दर्शक पुनः फर्किन सक्ने योजना लागू गर्न नसकिने बताए। उनले दर्शकहरुलाई खेलमैदान प्रवेशमा निषेध लगाउने निर्णय अझै ६ महिनासम्मका लागि लम्बाइने जानकारी पनि दिए। 

प्रधानमन्त्री बोरिसको यो निर्णयले बेलायतका व्यावसायिक र ग्रासरुट स्तरका स्पोर्टस क्लबहरुलाई सरकारबाट आर्थिक सहायता आवश्यकता पर्ने देखिएको त्यहाँका खेलविज्ञहरु बताउँछन्। यो नयाँ निर्णयले ‘म्याच डे’ आम्दानीमा निर्भर अधिकांश क्लबहरुलाई ठूलो आर्थिक झट्का दिएको छ। 
बेलायत सरकारले यसअघि क्लबहरुको आर्थिक सहायताका लागि आपतकालीन कोषको व्यवस्था गर्ने जनाइसकेको छ। 

कोरोनाभाइस संक्रमणका कारण बेलायतमा टेस्ट क्रिकेट र इंग्लिस प्रिमियर लिग बिनादर्शक नै सञ्चालन भइरहेका छन्। इंग्लिस प्रिमियर लिगले सन् २०२०÷२१ को सिजनमा आफ्ना क्लबहरुले दर्शकको अभावका कारण एकीकृत रुपमा २५५ मिलियन पाउन्ड स्टेर्लिङ गुमाउनुपर्ने अनुमान लगाएको छ। प्रिमियर लिगले दर्शक र समर्थकका अभावमा क्लब र कम्युनिटीहरुमा भयंकर प्रभाव परिरहेको जनाएको छ। 

लिगले एक विज्ञप्ति जारी गर्दै गत वर्षको लिगमा पनि क्लबहरुले ७०० मिलियन पाउन्ड स्टेर्लिङ घाटा व्यहोरेको र अहिले पनि अवस्था त्योभन्दा खराब हुने भएपछि क्लबहरुलाई बाँच्न गाह्रो हुने जनाएको छ। यसका साथै बेलायतको फुटबलले प्रतिमहिना १०० मिलियन पाउन्ड स्टेर्लिङका दरले घाटा व्यहोरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ। 

यसैगरी कोरोना महामारीका कारण बेलायतको क्रिकेट क्षेत्रले पनि हालसम्म १०० मिलियन पाउन्ड स्टेर्लिङ घाटा व्यहोरिसकेको छ। यस्तै अवस्था रहिरहे अर्को वर्षसम्म यो घाटा दोब्बर हुन सक्ने बताइएको छ। – एजेन्सी