काठमाण्डौ । संभावित जोखिम व्यवस्थापनबाट ठूलो रकम फिर्ता ल्याएर कुमारी बैंक लिमीटेडले नाफामा राम्रो प्रगति भएको रिपोर्ट सार्वजनिक गरेको छ । 

यो बैंकले शुक्रबार चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खूद नाफा करिब ७२ प्रतिशतले वृद्धि भएको, संचालन नाफा घटेको, तर रिजर्ब कोषमा भने राम्रो  प्रगति भएको देखाएको हो । 

समीक्षा अवधिमा बैंकले ४८ करोड २ लाख खूद नाफा आर्जन गरेको  छ । अघिल्लो वर्ष यस्तो नाफा २७ करोड ९३ लाखमा सीमित थियो । कर्मचारी तथा अन्य खर्चमा नियन्त्रण गर्न नसक्दा यो बैंकको संचालन नाफा भने घटेको छ । अघिल्लो वर्ष ३५ करोड ९३ लाख रुपैयाँ रहेको यस्तो नाफा घटेर यो वर्ष ३४ करोड ५५ लाखमा सीमित बन्न पुगेको छ ।

बैंकको  रिजर्ब कोषमा  भने राम्रो  बढोत्तरी भएको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ६४ करोड रुपैयाँ  रहेको  कोषको आकार  बढी २ अर्ब ५९  करोडको भएको छ । 

समीक्षा अवधिमा बैंकले ५७ अर्ब ६८ करोड निक्षेप संकलन गरी ५० अर्ब ९२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३९ अर्ब ९४ करोड निक्षेप संकलन गरी ३३ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकको व्यवसाय बिस्तार  भएका कारण ५५ करोड ५० लाख रहेको खूद ब्याज आम्दानी बढेर ८२ करोड १६ लाखको उचाईमा पुगेको छ । 

यो बैंकले चुक्तापूँजीमा भएको वृद्धिको अनुपातमा नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष यही अवधिमा २०.७० रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी यो वर्ष १६.०९ रुपैयाँ कायम भएको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.७१ गुणा कायम भएको छ ।

अघिल्लो वर्ष १८.४८ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर ११.२२ प्रतिशत सीमित भएको छ भने ४.७० प्रतिशत रहेको कस्फ फण्ड बढेर ७.८३ प्रतिशतको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष यही  अवधिमा १.१४ प्रतिशत रहेको यस्तो कर्जा बढेर १.६१ प्रतिशत पुगेको हो । अघिल्लो वर्ष ८.०७ प्रतिशत रहेको बंैकको आधार दर बढेर ११.१७ प्रतिशत पुगेको छ ।