काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा सुधार भएको छ । यो दिन बजार परिसूचक(नेप्से) ९.०१ अंकले बढेको छ । कारोबार रकम भने खासै बढ्न सकेन । 

बजार परिसूचक बढेर १३९१.०३ अंकमा पुुगेको छ भने बित्त र व्यापार समूह बाहेक सबै समूहको सूचक बढेका छन् ।

बित्त समूह ०.१६ र व्यापार समूह ०.०८ अंकले घटेका छन् । यस्तै, बैकिङ समूह ६.३१, होटल समूह १३.४३, विकास बैंक समूह ८.२७, जलविद्युत समूह १७.०१, बिमा समूह ७२.९४, माइक्रोफाइनान्स समूह ७.४५ र अन्य समूह ७.९७ अंकले बढेका छन् । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.०४ र समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.६३ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५२ कम्पनीका ६ लाख ८८ हजार ५२ कित्ता सेयर २६ करोड ९१ लाख १३ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ । 

यो दिन नेपाल बैंक लिमीटेडले २ करोड ४१ लाख बढीको कारोबार गर्यो । यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ३५ लाख, सिभिल बैंकले १ करोड ७ लाख, लक्ष्मी बैंकले १ करोड ६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड, नवील बैंकले ९२ लाख, इन्भेष्टमेन्ट बैंकले ७६ लाख ६१ हजार, एभरेष्ट बैंकले ७६ लाख ३१ हजार, सानिमा बैंकले ६७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सूर्योदय लघुवित्त बित्तीय संस्थाका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

आरएसडिसी लघुवित्तका लगानीकर्ताले चाहि सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतकै हाराहारीमा गिरावट आयो ।