काठमाण्डौ । इजरायलले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको छ । 

इजरायलले आफ्नो जैविक रसायन प्रयोगशालामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रधानमन्त्री बेन्यामिनको कार्यालयमार्फत जारी गरिएको वक्तव्यमा आईआईबीआरका निर्देशक श्यामुएल शापिराले भ्याक्सिनको निर्माण तीव्र रुपमा भइरहेको र परीक्षणका क्रममा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरे । अब छिट्टै नै जनावरमा परीक्षण गरिने उनले जिकिर गरे । 

रोयटर्सका अनुसार आईआईबीआरले मुसा जातिको जनावरमा भ्याक्सिनको परीक्षण सुरु भएका हो । तर मुसा जातिको कुन जनावरमा परीक्षण सुरु गरिएको हो भन्नेबारे भने आईआईबीआरले केही जानकारी दिएको छैन।

इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुको आदेशअनुरुप इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिन र उपचारका बारेमा अनुसन्धान थालेको थियो। 

मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि हुनुपूर्व नै प्रधानमन्त्री नेतान्याहुले आईआईबीआरलाई भ्याक्सिन र औषधिबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए। त्यही निर्देशनअनुसार नै इजरायलको नेस जिओनामा रहेको प्रयोगशालाले भ्याक्सिनको निर्माण र परीक्षण सुरु गरेको हो।

गत मार्च महिनाको दोस्रो हप्तामै इजरायली सञ्चारमाध्यम हाअरेत्जले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा इजरायलले ब्रेकथ्रूू गरेको समाचार प्रकाशित गरेको थियो। तर त्यतिबेला भने आईआईबीआरले त्यो समाचारको खण्डन गरेको थियो। त्यतिबेला इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा सफलता हात नपारेको दाबी गरेको थियो। साथै आईआईबीआरले आफ्नै कार्यतालिकाअनुसार चल्ने र कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन समय लाग्ने जिकिर गरेको थियो।

गत हप्ता भने आईआईबीआरका आविष्कार अधिकारी इरान जाभीले कोरोना भाइरस संक्रमणको उपचारका बारेमा इन्स्टिच्युटले तीन समूहमा काम गरिरहेको बताएका थिए। त्यसमा एउटा समूह कोरोना भाइरसको भ्याक्सिन निर्माण र रोगको कारक पत्ता लगाउन तथा अरु समूहले उपचार पद्धतिका बारेमा अनुसन्धान गरिरहेको उनले जानकारी दिएका थिए। 

साथै जाभीले कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जनावरमा गर्नु निकै चुनौतीपूर्ण कुरा भएको तर्क गरेका थिए। विश्वव्यापी महामारी रुप लिएको कोरोना भाइरसको असर जनावरमा नदेखिएको उल्लेख गरे । 

यता इजरायलले भने आफूले निर्माण गरेको भ्याक्सिन मानिसमा परीक्षण गर्न भने समय लाग्ने बताएको छ। 

गत हप्ता विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध अहिले कम्तीमा पनि २० वटा भ्याक्सिनको निर्मण भइरहेको बताएको थियो। कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलो पटक मार्च १६ मा मानिसमा परीक्षण गरिएको हो।