इटहरी । बेला बेला विवादमा आइरहने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि एकपटक विवादमा तानिएका छन्। 

नगरपालिकामा २ कर्मचारीलाई घूस खाएको आरोपमा कुटपिट गरी निश्कासन गरेका चौधरीले कुराकानीको क्रममा एक पत्रकारलाई लोपारी अर्का एकलाई समेत दुव्र्यवहार गरेपछि विवादास्पद बनेका हुन् । 

मेयर चौधरीले इटहरी उपमहानगरपालिकाको वडा नम्बर १९ का सचिव मनोज दाहाल र सवइञ्जिनियर रामबहादुर खड्का माथि भ्रष्टाचार गरेको आरोपमा कुटपिट गरेका थिए । कुटपिटविरुद्ध कर्मचारी आन्दोलित भएको विषयमा प्रतिक्रिया लिन खोज्दा र नगरपालिकाका कानूनी प्रक्रिया नपुर्याएका केही कामको विषयमा प्रश्न गर्दा चौधरीले पत्रकार कृष्ण बहाव भट्टराईलाई लोपारेका हुन् । उनले अर्का पत्रकार विकल रेग्मीलाई दुव्र्यवहार समेत गरेका स्थानीय संचारकर्मीले बताएका छन् । 

प्रश्न सोधेकैकारण आक्रोशित बनेका चौधरीले कृृष्ण बहाबलाई पटक पटक लोपारेका भिडियोमा देखिएको छ भने अर्कापत्रकार विकल रेग्मीको कठालो समातेका छन् । 

पत्रकारमाथि भएको दुव्र्यवहारको पत्रकारसँग सम्बद्ध विभिन्न संघसंगठनले विज्ञप्ति जारी गरी भत्र्सना गरेका छन् । 

यसैबीच, मेयरले कर्मचारीलाई हातपात गरेको भन्दै इटहरी उपमहानगरका सबै कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीले आफ्नै मेयरविरुद्ध नाराबाजी गरेका थिए । 

घुस लिएको भन्दै मेयर द्वारिकलाल चौधरीले सबओभरसियर राम खड्कालाई कार्यलय बाहिरसम्मै आएर जबरजस्ती निकालेका थिए । नासु मनोज दाहाललाई कार्यकक्षमै पुगेर  हातपात गरेका थिए । 

मेयरका यस्ता गतिविधि अवाञ्छित, अलोकतान्त्रिक र आपराधिक हर्कत भएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

भिडियो हेर्नुहोस्: