काठमाण्डौ । प्रदेश नम्बर १ मा सबैको ध्यान तानिरहेको सुनसरीको इटहरी र धरान उपमहानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । 

दुवै उपमहानगरमा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । तर, पछिल्लो समय कांग्रेसले एमालेसँगको मतअन्तर घटाएको छ । केही घण्टाअघिको परिणाम अनुसार ८ सय भन्दा बढी मत अन्तरले एमाले मेयर र उपमेयरमा अगाडि रहेकोमा अहिले मेयरको मत अन्तर ६७७ मा झरेको छ । मेयरतर्फ एमालेका उम्मेद्वार द्वारिकलाल चौधरीले १० हजार १ सय ९० मत पाएका छन् । उनलाई कांग्रेसका रोहित प्रसाईले ९ हजार ५ सय १३ मतले पछ्याइरहेका छन् । वडानम्बर ६ को मतगणनाको क्रममा मेयरमा एमालेलाई भन्दा कांग्रेसलाई बढी मत परेको छ । यो वडाको अध्यक्षमा समेत कांग्रेस उम्मेद्वार नै अगाडि छन् । 

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । उपमेयरतर्फ एमाले उम्मेद्वार लक्ष्मी गौतमलाई पछाडि छाड्दै कांग्रेस उम्मेद्वार बिमला ढकाल १२४ मतले अगाडि बढेकी छिन् । गौतमको ८ हजार ९ सय ३७ मत आउँदा ढकालले ९ हजार ६१ मत ल्याएकी छिन् । 

धरानमा भने मेयर तथा उपमेयर दुवै प्रमुख पदमा एमालेले निकै फराकिलो अन्तरले अग्रता लिएको छ । मेयरतर्फ एमालेका उम्मेद्वार तारा सुुब्बाले ८ हजार २ सय १७ मत ल्याएका छन् । उनलाई कांग्रेसका तिलक राईले ६ हजार ७ सय ८३ मतले पछ्याइरहेका छन् । यस्तै, उपमेयरमा एमालेकी मञ्जुु भण्डारीले ८ हजार ४ सय २१ मत पाएकी छिन् भने उनलाई कांग्रेसकी श्यामा रेग्मीले ६ हजार ६ सय ६ मतले पछ्याइरहेकी छिन् ।