इटहरी । पूर्वकै उदीयमान शहर, इटहरी उपमहानगरपालिकामा एमाले किल्ला भत्काउने उद्देश्यले सत्तारुढ दुई ठूला पार्टीबीच तालमेल हुने भएको छ ।

‘इटहरीमा कांग्रेस, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिक नै मिलेर आए भने पनि हामी करिब ५ हजार मत अन्तरले चुनाव जित्छौ ।’

-एमाले निकट एक विश्लेषक

इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुने भएको हो ।

माओवादी केन्द्रका एक उच्चस्तरीय नेताका अनुसार इटहरीमा मेयर पदमा कांग्रेसका रोहित प्रसाईलाई माओवादीले समर्थन गर्ने र उपमेयरमा माओवादीका सागर सुवेदीलाई कांग्रेसले समर्थन गर्ने सहमति बनेको हो । सत्तारुढ दलले मुख्य रुपमा एमालेलाई टक्कर दिनका लागि तालमेलमा जोड दिएका हुन् ।

माओवादी र कांग्रेसबीचको पहिलो चरणको चुनावमा भएका तालमेल असफलप्राय भएकोले इटहरीको तालमेलले पनि परिणामुखी नतिजा निकाल्छ भनिहाल्ने अवस्था भने छैन ।

माओवादी–कांग्रेसको तालमेलको सहमति गराउन इटहरीमा माओवादी नेता अग्नी सापकोटा आएका थिए । उनको विशेष पहलमा यहाँ तालमेल संभव भएको बताइए पनि स्थानीय स्तरबाट समेत निकै अगाडिदेखि नै तालमेलको बिषय उठिरहेको थियो ।

इटहरी उपमहानगरपालिका एमालेको लालकिल्ला मानिन्छ । यहाँ कांग्रेस वा माओवादी एक्ला एक्लै चुनावमा जाँदा एमालेको किल्ला भत्काउन नसकिने ठहर गर्दै संसदको पहिलो र तेश्रो दलबीच तालमेलको सहमति भएको बताइएको छ । तर, तालमेल अनुसार नै माओवादी कार्यकर्ताले कांग्रेसलाई भोट हाल्ने र कांग्रेस कार्यकर्ताले माओवादीलाई भोट हाल्ने संभावना क्षीण छ । यसले इटहरीको तालमेल समेत असफल हुने विश्लेषकहरुले प्रक्षेपण गरिरहेका छन् ।

त्यसो त इटहरीको कुल मतदाताको गणितीय हिसाब गर्दा समेत एमाले अरु भन्दा निकै अगाडि छ । इटहरी उपमहानगरपालिकाको कुल मतदाता संख्या ७७ हजार ६ सय ७७ हो । ६० हजार मत खस्यो भने २५ हजार भन्दा केही बढी मत ल्याउनेले मेयर र उपमेयरमा बाजी मार्छ ।

एमालेले गरेको हिसाबकिताब अनुसार इटहरीका २० वडामध्ये १४ वटा वडामा उसले शानदार जित हासिल गर्ने निश्चित झै छ । बाँकी रहेका ६ वटा वडामा समेत कडा प्रतिस्पर्धा हुने उसको विश्लेषण छ । ‘इटहरीमा कांग्रेस, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिक नै मिलेर आए भने पनि हामी करिब ५ हजार मत अन्तरले चुनाव जित्छौ ।’ एमाले निकट एक विश्लेषकले भने–‘साबिकको इटहरी नगरपालिकाको ९ वटा वडाबाटै एमालेले ७ हजारसम्मको मतअन्तरले अग्रता निकाल्ने देखिन्छ ।’

धेरै मतदाता भएका वडा एमालेको कब्जामा रहेकोले समेत चुनाव जित्नेमा एमाले नेताहरु ढुक्क छन् । यसअघि स्थानीय निर्वाचनको मिनी पूर्वअभ्यासको रुपमा हेरिएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा कांग्रेस, माओवादी, लोकतान्त्रिक फोरम र राप्रपा एकैमुख हुँदा समेत एमाले उम्मेद्वारले अध्यक्षमा बाजी मारेका थिए । साबिकको इटहरी नगरपालिकामा गाभिएका खनार, एकम्बा, हासपोसा र पकली गाविसमा समेत आफूहरुको राम्रै पोजिसन रहेकोले चुनाव जितिने एमालेहरुको विश्लेषण छ ।

उता, कांग्रेस र माओवादीको भने आफ्नै विश्लेषण छ । उनीहरुले आफूहरुले तालमेल गरेकोले एमालेको कुनै जोर नचल्ने दाबी गर्छन् । ‘यसअघि जे भयो, भयो, यसपालि चाहि हामी चुनाव जित्छौ ।’ कांग्रेसका एक नेताले भने–‘३ हजार मत अन्तरले हाम्रो गठबन्धनले चुनाव जित्दैछ ।’

तर, माओवादी केन्द्रका एक नेताले एमाले किल्ला भत्काउन गाह्रो रहेको उल्लेख गर्दै भने–‘तालमेलप्रति दुवै पार्टीका कार्यकर्ता कतिसम्म इमानदार  बन्नेछन्, त्यसमै निर्भर हुनेछ गठबन्धनको जित तथा हार ।’ शिक्षक समेत रहेका ती माओवादी नेताले चितवन, पोखरा लगायतको पूर्वअभ्यासबाट कांग्रेस र माओवादीको तालमेलबाट राम्रो नतिजा नआउने देखिएकाले एकअर्काबाटै धोकाधडी हुनसक्ने दाबी गर्छन् । ‘कम्युनिष्टहरुबीच तालमेल भएको भए बरु त्यो सफल हुन्थ्यो होला ।’ ती माओवादी शिक्षकले भने–‘उपमेयरमा माओवादीका सागर सुवेदीको व्यक्तिगत लोकप्रियताले उनलाई केही फाइदा पुर्याउला, तर कांग्रेसका मेयर उम्मेद्वार रोहित प्रसाईंले चुनाव जित्नु फलामको चिउरा चपाउनु भन्दा कठीन हुनेछ ।’

कांग्रेसभित्र कित्ताकाट
त्यसो त यसपटकको स्थानीय निर्वाचनमा टिकट वितरणमा देखिएको चरम असन्तुष्टिको केही न केही छाया चुनावी परिणाममा समेत पर्ने कांग्रेसकै नेताहरुको दाबी छ । उनीहरुले भनेजस्तो कांग्रेसकै केही नेता तथा कार्यकर्ताले टिकट वितरणमा असन्तुष्टि जनाउँदै बागी उम्मेद्वारी हाल्ने प्रवल संभावना छ । मेयरको टिकट वितरणमा असन्तुष्ट कांग्रेस कार्यकर्ताहरुले केही दिनसम्म पार्टीको निर्णयविरुद्ध आन्दोलन गरेका थिए ।

उनीहरुले पार्टी सभापति हेमकर्ण पौडेलले टिकट  पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । आन्दोलनमा उत्रिएका कांग्रेसका अगुवा कार्यकर्ताले पार्टीभित्रै रोहित प्रसाई अलोकप्रिय रहेका र कांग्रेसकै भोट समेत उनले नपाउने अवस्था रहेको त्यसबेला बताएका थिए । हेमकर्णले प्रसाईलाई समर्थन गर्ने बित्तिकै त्यसबेलाको त्यो विश्लेषण उल्टिने अवस्था देखिदैन । यसकारण, पौडेल प्यानलबाटै भित्रभित्रै प्रसाईमाथि घात हुने अवस्था रहेको कांग्रेसका एक जिल्ला सदस्यले बताए । ‘प्रसाई र पौडेलबीचको आन्तरिक घात–प्रतिघातको स्पष्ट असर चुनावी परिणाममा देखिनेछ ।’ ती नेताले भने–‘केन्द्रले बुद्धि नपुर्याउँदा यसपटक पनि एमालेले आफ्नो किल्ला बचाउने भयो ।’

यसअघिको स्थानीय निर्वाचनमा पनि एमालेले साबिकको इटहरी नगरपालिकामा शानदार जित हासिल गरेको थियो ।

यसपटकको निर्वाचनमा एमालेबाट मेयरमा द्वारिकलाल चौधरी, कांग्रेसबाट प्रसाई चुनावी मैदानमा छन् । उपमेयरमा एमालेबाट लक्ष्मी गौतम छिन् भने तालमेलका कारण माओवादीको सागर सुवेदी कांग्रेस–माओवादी गठबन्धनबाट उपमेयरको उम्मेद्वार छन् ।