काठमाण्डौ । पहिलो चरणको स्थानीय निर्वाचनको क्रममा राजधानीका दुुई मुख्य महानगर काठमाण्डौ र ललितपुरमा साझा पार्टी र विवेकशील पार्टीको खूूबै चर्चा थियो । बीबीसीको जागिर छाडेर साझा दल गठन गरेका रविन्द्र मिश्र र त्यसअघिदेखि नै अस्तित्वमा रहेको विवेकशीलले काठमाण्डौ र ललितपुर महानगरमा प्रस्तुत गरेका उम्मेद्वारले चमात्कारिक मत ल्याएर वैकल्पिक शक्तिको रुपमा उभ्याएका थिए । 

पहिलो चरणमा जताततै चर्चा बटुलेका साझा र विवेकशील दोश्रो चरणको निर्वाचनमा कहाँ हराए होलान् ? यी दुई पार्टीमध्ये साझाले काठमाण्डौबाहिर आफूलाई परीक्षण गर्न पूर्वाञ्चलको केन्द्र इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा उम्मेद्वारी दिएको थियो । तर, उसको राजधानी बाहिरको पहिलो परीक्षण असफल बनेको छ । 

काठमाण्डौको जस्तै चमात्कार भइहाल्छ कि भनेर इटहरीमा प्रस्तुत गरिएका मेयर र उपमेयरका उम्मेद्वारको अन्ततः हरिबिजोग भएको छ । काठमाण्डौमा साझाको प्रदर्शन सुखद रहे पनि इटहरीमा भने उसले लाजमर्दो अवस्था व्यहोर्नुपरेको हो । 

इटहरीको ५ वटा वडाको मतगणना अन्तिम चरणमा रहँदा साझाका मेयर र उपमेयरका उम्मेद्वारले ५० मत पनि कटाएका छैनन् । सेलरोटी लिएर उपमेयरमा साझाबाट लडेका प्रकाशचन्द्र परियारले ३० मत प्राप्त गरेका छन् भने क्यामेरा चुनाव चिन्हको साथमा चुनाव लडेकी मेयर पदकी उम्मेद्वार डा. तारा काफ्लेले मात्र २३ मत पाएकी छिन् । 

साझा पार्टीले यो क्षेत्रमा निकै तामझामका साथ नयाँ शैलीमा चुनाव प्रचार गरे पनि त्यसको मतदातामा शून्य समान प्रभाव देखिएको छ । गठनकै क्रममा रहेको पार्टीले यति थोरै मत पाउनुुलाई स्वभाविक नै मान्नुपर्छ, तर काठमाण्डौको जस्तै जनताले पत्याइदिने आशामा इटहरीमा उसले दिएको उम्मेद्वारी अन्ततः अर्थहीन रणनीति बन्न पुुगेको छ । 

साझालाई काठमाण्डौ बाहिरको जनमतले अहिले नै नपत्याइहालेको र उसका कामहरु नहेरी विश्वास गरेर अहिले नै मत दिने अवस्था समेत नरहेको सन्देश इटहरीका मतदाताले दिएका देखिएको छ । यहीकारण समेत साझाको उम्मेद्वारले आफ्ना परिवार र नातागोता बाहेकको भोट नपाएका देखिएको छ । 

साझा पार्टीबाट मेयरको टिकट पाएकी काफ्ले इटहरी उपमहानगरपालिका वडा नम्बर ५ की बासिन्दा हुन् । उनले जनसंख्या तथा जनस्वास्थ्य विषयमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा काशी हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छिन् । यस्तै, उपमेयरको टिकट पाएका परियार कांग्रेसका महासमिति सदस्य परित्याग गरी साझा पार्टीमा प्रवेश गरेका व्यक्ति हुन् । उनी पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य तथा साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य हुन् । आमसञ्चार विषयमा स्नातकोत्तर गरेका परियाले एक दशकसम्म टेलिभिजन पत्रकारिता गरेका थिए ।