काठमाण्डौ । पूर्वको सुन्दर शहर इटहरीमा बाढीले बितण्डा मच्चाएको छ । स्थानीय टेंग्रा र बुढी खोलाको बाढी बस्तीमा बसेर अधिकांश शहरी इलाका डूूबानमा परेका छन् भने मध्यरातमा बाढीले बगाएर साबिकको इटहरी क्षेत्रमा ५ जना र तरहरामा एकजना गरी ६ जनाको मृत्यु भएको छ । 

बाढीमा परेर केही  मानिस हराइरहेका इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  प्रहरीका अनुसार ६ जनाको शब भेटिएको छ । बाढीले इटहरी ३ गैरी गाँउका ३० बर्षिय माला शाहा, उनकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भई इटहरी ४ बस्ने माला राई ३ वर्षीय छोरा रुपेश र ८ बर्षकी रुपसनीको शव भेटिएको हो । यस्तै, घरमा पसेको बाढीले बगाएर इटहरी ४ आइतबारेका ४० वर्षीय ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० बर्षको अर्का एक व्यक्तिको मृत्युु भएको छ । 

बाढीले नेपाल टेलिकमको टावर तथा तारहरुमा क्षति गर्दा इटहरी मध्यरातिदेखि नै संचार सम्पर्क बिच्छेद भएको छ । संचार सम्पर्क नै अवरुद्ध भएपछि सूचना संकलन, हराइरहेकाहरुको खोजी तथा बाढीमा फसेकाहरुको उद्धार निकै कठीन भइरहेको प्रहरीले जनाएको छ । 

गए रातिदेखि नै इटहरी क्षेत्रमा विद्युत आपूर्ति समेत ठप्प छ । पूर्व पश्चिम राजमार्ग तथा कोशी राजमार्ग अन्तरगतका सबै खण्डहरुमा बाढीको भेल पसेपछि यातायात समेत पूर्ण रुपमा अवरुद्ध छ । भारी वर्षा अविरल परिरहेकोले क्षति र बाढीको बितण्डा अझै बढ्नसक्ने त्रासमा इटहरीबासी रहेका स्थानीय संचारमाध्यमहरुले जनाएका छ । 

बाढीले इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डूूबानमा परेको छ । सेनाका ब्यारेक भित्रै पानी पसेपछि केही सामान सुरक्षित स्थानमा सारिएको बताइएको छ । नेपाली सेनाको हेलिकप्टर विहानैदेखि उद्धार कार्यका लागि जुुटेको पृतनाले जनाएको छ । 

यस्तै, मध्यरातमा अनपेक्षित रुपमा बाढी नै घर घरमा पसेपछि मानिसहरुको भोकनिद्रा हराएको छ । धेरै मानिस विस्थापित भएर बिचल्ली अवस्थामा देखिएको छ । 

प्रहरीका अनुसार बुढी खोलाले आसपासका खेतीयोग्य जमीनमा तीव्र कटान गरिरहेको छ भने टेंग्रा खोलामा आएको बाढीका कारण इटहरीका अधिकांश वडा डूूबानको चपेटामा परेका छन् । बुढि खोलाको बाढीले नजिकैको गैरीगाउँका ३५ बढी घर बगाएको छ । डिभिएम स्कूल नजिकैको झोलुंगे पुल पनि बाढीले बगाएको छ । बुढी खोलामा आएको बाढी खोलाको डिलभन्दा माथी उक्लेर डिभिएम स्कूलको वाल समेत भत्काएको स्थानीय सप्तकोशी एफएमका संचारकर्मीहरुल्े जनाएका छन् । 

गछिया खोला र बुढी खोलामा भिषण बाढी आई बलिया खापमा रहेको बृद्ध आश्रमका तीनजना वृद्धहरुलाई बगाएको छ, उनीहरु बेपत्ता छन् । गछिया खोलाको पश्चिम पट्टीको पुलको उत्तर दछ्णि भागमा कटान लागेर पुल भत्काउने सम्भावना रहेको छ । सुन्दरहरैचा ३ शेषनारायण धाम टोल पूर्ण रूपमा बाढी पसी गाउँ डूूबानमा परेको र हजारौको बिचल्ली भएको सो एफएमले जनाएको छ । 

सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली इटहरीका बिभिन्न स्थानमा पुगेर उद्धारको कार्य थालेका छन् । 

बाढीको बितण्डाले इटहरीलाई तहसनहस बनाइरहँदा सप्तकोशी नदिमा पानीको बहाव बर्षकै उच्च मापन गरिएको छ । आज विहानको मापन अनुसार सप्तकोशी नदीमा प्रति सेकेण्ड २ लाख ६९ हजार २ सय ५० प्रतिक्युसेक पानीको बहाव रहेको छ । सप्तकोशीका ५६ मध्ये ३४ ढोका खोलिएको छ । 

सबै तस्विरहरु : सप्तकोशी एफएम, इटहरी एफएम