काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले तनहुँ जलविद्युत कम्पनीको काउन्टर ग्यारेन्टी बस्दा फसेको रकममध्ये १ अर्ब २० करोड रुपैयाँ फिर्ता पाएको छ।

तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौतामा सीएमसी रेभिनाका लागि इटालीको इन्सेटा सानपाउलो बैंकका तर्फबाट काउन्टर ग्यारेन्टी जारी गर्दा बैंकको १ अर्ब ९७ करोड रुपैयाँ १६ महिनादेखि फसेको थियो। उक्त रकम फिर्ता पाउन बैंकले इटालीको उच्च अदालतमा मुद्दा हालेको थियो। 

मुद्दाको किनारा लगाउँदै गत मंगलबार इटालीको उच्च अदालतले क्षतिपूर्ति पाउनेगरी नेपाल इन्भेस्टमेन्ट बैंकको पक्षमा फैसला सुनाएको थियो। सोही फैसलाबमोजिम इन्सेटा सानपाउलो बैंकले हिजो मंगलबार नेपाल इन्भेस्टमेन्ट बैंकलाई १.७ मिलियन युरो (करिब १ अर्ब २० करोड रुपैयाँ) पठाएको बताइएको छ। 

अब नेपाल इन्भेस्टमेन्ट बैंकले पाउनुपर्ने बाँकी ८५ करोड हाराहारी रकम बुधबार साँझसम्म आइपुग्ने बैंक स्रोत बताउँछ। 

अदालतले तोकेको क्षतिपूर्तिबापतको २० देखि ३० हजार युरो भने बैंकले सीएमसी रेभिनासँग छुट्टै दाबी गर्ने तयारी गरिरहेको बुझिएको छ।