काठमाण्डौ । भारतको लोकसभा निर्वाचनमा नरेन्द्र मोदीको गठबन्धनले अधिक बहुमत ल्याउने चुनावी प्रक्षेपण(एक्जिट पोल)को खबर सनसनी भएसँगै त्यहाँको सेयर बजारले समेत इतिहास रचेको छ । 

भारतीय मिडियाहरुले सेयर बजारमा मोदी सुनामी देखिएको बताएका छन् । तीव्र बढोत्तरीका साथ खुलेको बजारमा यो निरन्तर रहेको बताइएको छ । 
सेन्सेक्समा १० वर्षकै सबैभन्दा तीव्र इन्ट्रा डे बढोत्तरी देख्ने अवसर प्राप्त भएको समाचारमा जनाइएको छ । 

सेन्सेक्स यो समाचार तयार पार्दासम्म १२०० अंकभन्दा बढी बढोत्तरीसहित ३९ हजार १३९ को उच्च विन्दूमा पुगेको छ । 

यस्तै, अर्को सेयर बजार सूचक निफ्टी ३५६ अंकले बढेर ११ हजार ७६३ भन्दा माथि पुगेर कारोबार गरिरहेको छ । 

त्यहाँको बैंकिङ परिसूचकमा समेत तीव्र वृद्धि देखिएको छ । बैंक निफ्टी १००० अंकको उछालसँगै कारोबार गरिरहेको छ । 

निफ्टीले पनि इन्ट्रा डे कारोबारमा ३ वर्षकै तीव्र गतिमा बढेको हो । निफ्टीमा सूचिकृत ५० कम्पनीमध्ये ४४ कम्पनीमा खरिदारी देखिएको छ । यस्तै, सेन्सेक्सका ३० सेयरमध्ये २८ सेयरमा तीव्र खरीद चाप देखिएको छ । 

सबैभन्दा बढी उछाल सरकारी बैंकहरुको मूल्यमा देखिएको समाचारमा जनाइएको छ । 

निफ्टीको आइटी इण्डेक्समा पनि गिरावट आइरहेको छ । 

विज्ञ सन्दीप जैनले एक्जिट पोलको परिणामले बजारमा अनपेक्षित उछाल आएको हो । यो रुझान यदि यथार्थमा परिणत भयो भने लगानीकर्ताले निकै ठूलो लाभ लिनसक्ने उनको विश्लेषण छ । 

फेरि मोदी नै सत्तामा आए सरकार र उसले लिने परिवर्तन हुने छैन, यसले स्वदेशी लगानी मात्र होइन, विदेशी लगानी समेत आउने बाटो खुल्ने जैनको दाबी छ ।