काठमाण्डौ । सोमबारको निरश बजारले एकाएक फड्को मारेपछि मंगलबार हरियाली छाएको छ । नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ भने कारोबार रकमले पनि फड्को मारेको छ । 

नेप्से परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) समानान्तर ढंगले बढ्न थाल्नुु बजारका लागि सुखद संकेत हो । तर, यो क्रम केही दिनसम्म लगातार देखिए बजारमा उछाल आउने संभावना हुने विश्लेषक दाबी गर्छन । इण्डेक्स र टर्नओभर समानान्तर ढंगले घट्न थाले त्यो बजारका लागि अशुुभ संकेत मानिन्छ, तर सामान्तर ढंगले बढ्न थाले त्यो शुुभ संकेत मानिन्छ । 

मंगलबार नेप्से परिसूचक १०.११ अंकले बढेर १६२६.५१ अंकमा पुुगेको छ भने सबै समूहमा हरियाली छाएको छ । 

वाणिज्य बैंक(बैकिंग) समूह ११.०७ अंकले बढेको छ भने बिमा समूहमा २०.९२ अंकको बढोत्तरी देखिएको छ । विकास बैंक, बित्त र जलविद्युत समूह क्रमशः १०.९५, ११.३५ र २.८३ अंकको बढोत्तरी देखिएको छ । 

होटल समूहमा ०.८२ अंकको झिनो बढोत्तरी देखिएको छ भने उत्पादनमूलक सबैभन्दा धेरै ५५.०१ अंकले बढेको छ । अन्य समूहमा पनि ०.५८ अंकको झिनो वृद्धि देखियो । 

'क' वर्गका कम्पनीको सेयर कारोबारमा लगानीकर्ताको मन फर्किएको संकेत सेन्सेटिभ इण्डेक्सको बढोत्तरीले दिएको देखिन्छ । सेन्सेटिभ इण्डेक्स २.२३ अंकले वृद्धि भयो । यस्तै फ्लोट इण्डेक्स ०.८१ अंकले वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १ सय ४७ कम्पनीका १० लाख १७ हजार ३ सय ५४ कित्ता सेयर ७८ करोड ६६ लाख ३८ हजार ६ सय १६ रुपैयाँमा किनबेच भयो । सोमबार ५२ करोड ८६ लाखको मात्र सेयर किनबेच भएको थियो । यसरी कारोबारमा एकैदिन २६ करोड बढीको बढोत्तरी भएको देखिएको छ । 

मंगलबार सबैभन्दा धेरै मेरो माइक्रो फाइनान्सको ६ करोड ७१ लाख बढीको कारोबार भयो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ करोड  १० लाख, सिद्धार्थ बैंकले ४ करोड २८ लाख, हिमालयन जनरल इन्स्योरेन्सले ४ करोड १ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ६४ लाख बढीको कारोबार गरे । नवील बैंकको २ करोड ५१ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एभरेष्ट बैंकले २ करोड २१ लाख, सिनर्जी पावरले २ करोड १८ लाख बढीको कारोबार गर्यो । 

यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत र एक स्थान माइक्रो फाइनान्सले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार बजार परिसूचक र कारोबार रकम बढे पनि कमाउने कम्पनीहरु भने धेरै भएनन् । हिमालयन डिस्टीलरी लिमीटेडले सबैभन्दा धेरै १० प्रतिशतको हाराहारीमा सम्पत्ति बढायो । यस्तै, बोटलर्स नेपाल(तराई) लिमीटेडको ८.५३ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा रहेको सिनर्जी पावरले सबैभन्दा धेरै ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाएको छ । यस्तै, रिदी हाइडोपावर डेभलपमेन्ट कम्पनी र पूर्णि विकास बैंकको संस्थापक सेयरको मूल्य साढे ३ प्रतिशतले घट्न पुुगेको छ । मंगलबार पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य २ प्रतिशतको हाराहारीमा घट्यो ।