काठमाण्डौ । तेह्रसयको मनोवैज्ञानिक विन्दूलाई पार गरेसँगै नेप्से परिसूचक बुलिस गतिमा दौडन संकेत देखिएको छ । 

दोश्रो बजारमा सूचिकृत अधिकांश कम्पनीहरुले तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेकोले र त्यसका आधारमा ती कम्पनीहरुले यो वर्ष दिनसक्ने लाभांशको समेत आँकलन गर्न सकिने भएकोले लगानीकर्ताहरुले छानी छानी राम्रा कम्पनीमा लगानी गर्न थालेका छन् । 

यो बेला राम्रा कम्पनीको सेयर बेलैमा खरीद नगरे अवसर गुम्ने निश्कर्षसहित लगानीकर्ताहरुले खरिदारी बढाएका छन् । यहीकारण समेत बजार पुनः बढ्न थालेको हो । 

तेश्रो त्रैमासको वित्तीय विवरणकै प्रभावका कारण मंगलबार नेप्से परिसूचक १४.१२ अंकले बढेर १३१५.४५ को विन्दूमा फर्कियो । यो दिन एक अर्ब बढीको कारोबार भयो । 

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि हुनु र कारोबार रकम समेत उछालको गतिमा बढेर १ अर्ब माथि पुग्नु बजारको भविष्यका लागि राम्रो संकेत हो ।

कारोबार रकम र नेप्से परिसूचक समानान्तर ढंगले अगाडि बढ्यो भने र यो प्रवृति केही दिनसम्म रहे बजारमा बुल रन सुरु हुने जानकारहरु बताउँछन् । तर, एकै दिनको बढोत्तरीलाई आधार मानी ‘अब फूल फेजको बुल रन सुरु हुन्छ’ भनेर दाबी गरियो भने त्यो आधारहीन हुनसक्छ । 

जेहोस बजारमा फेरि केही समय बुल प्रवृति देखिनसक्ने गरी चमक फर्किएको छ । 

मंगलबार ट्रेडिङबाहेकका सबै समूहका परिसूचक बढेका छन् । ट्रेडिङ समूह ०.१७ अंकले घट्यो भने निर्जीवन बिमा समूह, बैंकिंग समूह र उत्पादनमूलक समूहमा बहार देखियो । 

निर्जीवन बिमा समूहको उपसूचक १४५.८४ अंकले बढेको यो दिन बैंकिंग समूह १४.१४ अंक र उत्पादनमूलक समूह ८४.७१ अंकले बढे । 

यस्तै, विकास बैंक समूहमा ११.६ अंक, होटल समूहमा १७.५७ अंक, जलविद्युत समूहमा २.५९ अंक, बित्त समूहमा २.६९ अंक, माइक्रोफाइनान्स समूहमा ९.५ अंक, जीवन बिमा समूहमा ४३.०८ अंक,  अन्य समूहमा ०.०८ अंक तथा म्युचुअल फण्ड समूहमा ०.०९ अंकको बढोत्तरी भयो । 

राम्रा कम्पनीको सेयर छानी छानी किन्ने क्रम बढेसँगै यो दिन सेन्सेटिभ इण्डेक्स १.५ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०४ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७० कम्पनीका ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर १ अर्ब ३ करोड ७२ लाख ५८ हजार ७२९ रुपैयाँमा कारोबार भयो । 

यो दिन सबैभन्दा बढी नेपाल बैंकले १० करोड ३१ लाख बढीको सेयर कारोबार गर्यो । 

शिवम् सिमेन्टको ८ करोड ४१ लाख बढीको सेयर कारोबार भएको यो दिन कृषि विकास बैंकले ७ करोड ८३ लाख, एनसीसी बैंकले ५ करोड ४९ लाख, प्राइम कमर्सियलले ४ करोड ७१ लाख, अपर तामाकोशीले ३ करोड १५ लाख, एनएमबी बैंकले २ करोड ९५ लाख, जनता बैंक नेपालले २ करोड १९ लाख, प्रभू बैंकले २ करोड १३ लाख र इन्भेष्टमेन्ट बैंकले २ करोड १० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन राष्ट्रिय बिमा कम्पनी लिमीटेडको साधारण र संस्थापक सेयरको मूल्यमा पोजिटिभ सर्किट लाग्यो । दुवै खालको सेयरधनीले १० प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

यस्तै, शिवम् सिमेन्टको मूल्यमा समेत पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य समेत १० प्रतिशतकै हाराहारीमा बढ्यो । 

यो दिन भार्गव विकास बैंकको मूल्य ८.१५ प्रतिशतले वृद्धि भयो । 

यो दिन सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । यो कम्पनीको सेयरमूल्य ७.५५ प्रतिशतले घट्यो ।