काठमाण्डौ । भारतीय निजी एअरलाइन्स कम्पनी इन्डिगोको गम्भीर लापरबाहीका कारण यात्रुले ठूलै झमेला व्यहोर्नुपरेको छ ।

गत आइतबार इन्डिगो एअरलाइन्सको जहाज भारतको नयाँदिल्लीबाट टर्कीको राजधानी इस्तानबुल उडेको थियो । विमानमा सवार १३० यात्रु इस्तानबुल त पुगे तर उनीहरुको सामान भने दिल्लीमै छुट्यो । इन्डिगो एअरलाइन्सको गम्भीर लापरबाहीले यात्रुलाई सास्ती त भयो नै भारतको सबैभन्दा सस्तो भाडादरमा ओसार्ने यो एअरलाइन्सको छवि पनि नराम्ररी धमिल्याएको छ ।

विमानमा इस्तानबुल पुगेका एक यात्रुले ट्विट गर्दै लेखेका छन्, ‘इस्तानबुल पुगेपछि एअरलाइन्सले यात्रुलाई एउटा पत्र थमायो । जसमा लेखिएको थियो– गल्तीले तपाइँहरुको सामान दिल्लीमै छुट्यो । छुटेको सामान मगाइएको छ । यो घटनाले तपाइँहरुले व्यहोर्नुपरेको तनावप्रति हामी क्षमायाचना गर्छौं ।’

यो घटनालाई लिएर अर्का एक यात्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामानमा मेरो बुवाको अत्यावश्यक औषधि थियो । उहाँ डायबटिजको बिरामी हुनुहुन्छ । उहाँलाई हरेक दिन औषधि लिनुपर्ने हुन्छ । एअरलाइन्सको यो गल्तीले मलाई ठूलै पीडा भएको छ।’

एअरलाइन्सको यो गल्तीलाई लिएर इस्तानबुल पुगेका यात्रुहरुले ठूलै हंगामा मच्चाएका थिए । उनीहरुलाई शान्त पार्न एअरलाइन्सका कर्मचारीहरुले निके मेहनत गर्नुपरेको थियो । 

उक्त फ्लाइटमा थुप्रै देशका यात्रु सवार थिए ।

इन्डिगो एअरलाइन्स कम्पनीले भने कर्मचारीको लापरबाहीका कारण यात्रुको सामान छुटेको भन्दै वक्तव्य जारी गरेको छ । वक्तव्यमा छुटेका सामान छिटो ल्याउने प्रयास भइरहेको र सबै यात्रुलाई सामान दिइने उल्लेख छ । –एजेन्सी