काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमीटेडलाई धितोपत्र बोर्डले ६ लाख ७४ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्न स्वीकृति दिएको छ ।

बोर्डले बैशाख २३ गते यो कम्पनीलाई चुक्तापूँजीको ३२.५ प्रतिशतले हुन आउने ६ करोड ७४ लाख बराबरको आइपीओ निश्कासनको अनुमति दिएको हो ।

कम्पनीले माघ २९ गते आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो। 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । 

यो कम्पनीको आईपिओलाई केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ को रेटिङ्ग प्रदान गरेको छ, जसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर छ भन्ने हो ।

हाल यो कम्पनीको चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको छ।  आइपीओपछि चुक्तापूँजी २० करोड ७४ लाख पुग्नेछ ।

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ करोड १९ लाख खूद नाफा आर्जन गरेको छ ।

यो कम्पनीको मुख्य कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ । 

यो कम्पनीले हाल विभिन्न जिल्लाका ४३ शाखाबाट वित्तीय सेवा दिइरहेको छ । यो कम्पनीले २०७५ माघ ७ गते दोश्रो वार्षिकोत्सव पूरा गरेको थियो ।