काठमाण्डौ । इन्फिनिटी लघुवित्तको आइपीओमा दोश्रो दिन मंगलबारसम्म करिब ६ गुणा बढी आवेदन परेको छ । 

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेडका अनुसार देशभरबाट यो कम्पनीको आइपीओमा दोश्रो दिन मंगलबार साँझसम्म १ लाख ७३ हजार ५३१ आवेदकले ३६ लाख ७१ हजार ५८० कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

यो कम्पनीले कुल ६ लाख ७४ हजार ३०० कित्ता आइपीओ निश्कासन गरेको हो । जसमध्ये ३३ हजार ७०० म्युचुअल फण्डका लागि १० हजार ३७० कित्ता कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ । बाँकी कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो । 

यो कम्पनीको आइपीओमा जेठ १६ गतेभित्र आवेदन दिन सकिन्छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७० कित्तासम्मका लागि आवेदन दिने सुविधा छ । तर, आइपीओ पहिलो दिनदेखि नै ओभरसब्स्क्राइब्ड भएकोले १० कित्ताका लागि मात्र आवेदन दिए काफी हुन्छ । 

अधिकांश लघुवित्त संस्थाहरुको आइपीओमा अचाक्ली आवेदन पर्ने गरेको छ । परेका आवेदनमध्येबाट १० कित्ताको दरले गोलाप्रथामा भाग्यमानी प्रमाणित हुनेले मात्र सेयर पाउने गरेका छन् । 

आइपीओपछि कम्पनीको चुक्तापूँजी बढेर २० करोड ७० लाखको उचाईमा पुग्नेछ । 

कम्पनीको आइपीओलाई केयर नेपाल प्रालिले ग्रेड फोरको रेटिङ प्रदान गरेको छ, यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसत कमजोर छ भन्ने हो ।