काठमाण्डौ । सेयर बजारमा इन्साइडर ट्रेडिङको धन्दा कसरी हुन्छ ? यसका कस कसको सहभागिता हुन्छ ? यस्ता प्रश्नहरु इन्साइडर ट्रेडिङको धन्दा प्राय भइरहने नेपालको सेयरका बजारका लागि सामान्य भइसकेका छन् । 

इन्साइडर ट्रेडिङको धन्दामा सम्बद्ध कम्पनीका संचालक, उच्चपदस्थ कर्मचारी, सेयर ब्रोकरदेखि नेपाल स्टक एक्सचेञ्जको जिम्मेवार अधिकारी हुँदै धितोपत्र बोर्डकै कतिपय अधिकारीको समेत मिलेमतो रहने गरेको चर्चा चल्ने गर्छ । ठूला ठूला इन्साइडर ट्रेडिङमा बजारको नियामक धितोपत्र बोर्डले आँखा चिम्लिँदा उसमाथिको आरोप सत्य पो हो कि भन्ने कतिपयलाई लाग्नुु पनि अस्वभाविक नहोला । 

तर, सानै भए पनि हालै धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गरेको र सम्बद्ध कम्पनीले सार्वजनिक गर्नुअघि नै त्यसको महत्वपूर्ण सूचना बाहिर ल्याएको भन्दै एक ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । 

प्रज्ञान सेक्युरिटिज प्रा. लि.को विराटनगरस्थित कार्यालयबाट सिभिल बैंक लिमीटेडले जारी गर्न लागेको हकप्रद शेयरको सम्वन्धमा सार्वजनिक नभएको सूचना केही व्यक्तिहरुलाई दिएको जानकारी प्राप्त भएको भन्दै बोर्डले आवश्यक छानबिन कार्य समेत अगाडि बढाएको हो । 

छानबिन कार्य सम्पन्न नभइञ्जेलसम्मका लागि बोर्डले प्रज्ञान सेक्युरिटिज प्रालिलाई जेठ ८ गते(सोमबार)देखि निलम्बन गरी धितोपत्र कारोबार पनि रोक लगाइएको बोर्डले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जानकार तथा विज्ञहरुले बोर्डको यो सुरुवाती कदमलाई स्वागत गर्दै यसलाई प्रभावकारी ढंगले अगाडि बढाए बजारमा धेरै सुधार हुने दाबी गर्छन् । ‘एउटा ब्रोकरेज कम्पनीलाई कारबाही गरेर ठूला ठूला इन्साइडर टेडिंगको धन्दा रोक्ने बिषयमा बोर्डले चासो दिएन भने सानै भए पनि सकारात्मक देखिएको यो कदमको अर्थ हुँदैन ।’ एक बजार विज्ञले भने–‘स्ट्याण्डर्ड चार्टर्डको एफपीओ लगायत ठूला ठूला घटनामा भएका इन्साइडर टेडिंगमा छानबिनको हिम्मत गरेको दिन मात्र बोर्डप्रति विश्वस्त हुने आधार रहन्छ ।’ 

स्मरणरहोस्, स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा रातारात १० अर्ब बढीको आवेदन थपिएको आरोप लाग्दै आएको छ । बोर्डले स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा तीव्र चलखेल भएको यथार्थप्रति नजरअन्दाज गरी आफूले तोकेको मितिमा किन बाँडफाँड सम्पन्न नगरेको भनेर बिक्री प्रबन्धकलाई स्पष्टीकरण मात्र लिएको छ । एफपीओमा रातारात भएको निकै ठूलो चलखेल र त्यसबाट साना लगानीकर्तालाई परेको मर्काको बिषयमा उसले छानबिन गर्ने चासो देखाएको छैन।