काठमाण्डौ । सेयरको इन्साइडर ट्रेडिङ(भित्री कारोबार) तथा बित्तीय क्षेत्रमा हुने अन्य गलत कार्य र बैकिङ कसूर निरुत्साहित गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल राष्टबैंकबीच एक सम्झौता भएको छ। 

यी दुुई नियामक संस्थाबीच आपसी सहयोग तथा सूचना आदानप्रदान सम्झौता भएको हो । यो सम्झौतापछि आपसी सहयोग र महत्वपूर्ण सूचना आदानप्रदान गरी धितोपत्रको भित्री कारोबार तथा अन्य बैकिङ कसूर न्यूनिकरण संभव हुने दुवै संस्थाका अधिकारीहरुले दाबी गरेका छन् । 

‘धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था IOSCO को सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम IOSCO को एशोसियट सदस्य भइसकेको बोर्डले साधारण सदस्यता प्राप्त गर्न बजारमा हुने कारोबार तथा अन्य गतिविधि सम्बन्धी कसुरको खोज/अनुसन्धानका लागि बैकिङ्ग अभिलेखमा पहुँच हुनुपर्ने प्रावधान अनुसार वित्तीय प्रणालीका महत्वपूर्ण निकायका रुपमा रहेका बोर्ड र नेपाल राष्ट्र बैंकबीच आपसी सहयोग तथा सूचना आदानप्रदानको सम्झौता भएको हो ।’ धितोपत्र बोर्डले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘अर्थतन्त्रको दिगो विकासका लागि वित्तीय क्षेत्रका गतिविधिहरुलाई थप पारदर्शी एवं प्रतिस्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको हितको सुरक्षा सुनिश्चित गर्न विविध कसूरका कारण धितोपत्रबजार लगायत सम्पूर्ण वित्तीय बजारमा हुनसक्ने दुर्घटना रोक्न तथा उत्पन्न हुनसक्ने जोखिमको समयमै सम्बोधन गरी मुलुकमा स्वच्छ तथा प्रतिस्पर्धी धितोपत्रबजार एवं वित्तीय गतिविधिहरु मार्फत् वित्तीय स्थायित्व कायम गर्न बोर्ड र नेपाल राष्ट्र बैंकबीच हुने समन्वयकारी भूमिकाले महत्वपूर्ण योगदान दिनेछ ।’ 

यो सम्झौतापछि धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रका अन्य धितोपत्रबजारका नियमन निकायसँग धितोपत्रबजारसँग सम्बन्धित कसुरको खोज/अनुसन्धानमा आवश्यक सहयोग गर्न तथा सहयोग लिनसक्ने महत्वपूर्ण आधार तयार हुने बताइएको छ । साथै, नेपालको धितोपत्रबजार सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलामा प्रयोग हुनसक्ने जोखिम समेत न्यूनिकरण हुने बोर्डको दाबी छ ।