काठमाण्डौ । भित्री कारोबार, झूठा कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पारेमा, झुक्याउने विवरणहरु दिने, जालसाजीयुक्त कारोबार गर्ने, लिखत विवरण वा अभिलेख नष्ट गर्ने जस्ता कार्यमा सहयोग गर्ने वा प्रत्यक्ष संलग्नता पुष्टि भई कारबाही भोगेको व्यक्ति सूचिकृत कम्पनीको संचालक तथा प्रमुख कार्यकारी अधिकृत हुन नपाउने भएको छ । 

बुधबार संसदमा दर्ता गरिएको ‘नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संसोधन गर्न बनेको विधेयकमा यस्तो कडा व्यवस्था प्रस्ताव गरिएको हो । 

मूल ऐनको दफा १०८ मा संसोधन गर्दै दफा १०१ को उपदफा १, २ र ३ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय भुक्तान गरेको पाँच वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति धितोपत्र बोर्डमा धितोपत्र दर्ता गराएको, सार्वजनिक निश्कासन गरेको वा बोर्डबाट अनुमतिपत्र प्राप्त कुनै संस्थाको संचालक, कार्यकारी प्रमुख वा सो सरहको पदमा बहाल हुन अयोग्य हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

यो ऐन बमोजिम बोर्डले गरेको कारबाहीको परिणाम स्वरुप अनुमतिपत्र प्राप्त कुनै संस्थाको अनुमतिपत्र खारेज भएमा त्यस्तो संस्थाको संचालक, कार्यकारी प्रमुख वा सो सरहको पद धारण गरेको व्यक्ति अनुमतिपत्र खारेज भएको मितिले एक वर्ष पूरा नभएसम्म बोर्डबाट अनुमतिपत्र प्राप्त कुनै संस्थाको संचालक, कार्यकारी प्रमुख वा सो सरहको पदमा बहाल हुन अयोग्य हुने व्यवस्था समेत प्रस्ताव गरिएको छ । 

भित्री कारोबार गर्नेलाई १० लाखसम्म जरीवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ । 

यस्तै, झूठा कारोबार, मूल्य उतारचढाव गराउने र धितोपत्र बजारलाई प्रभावित पार्नेलाई बिगो बमोजिम जरीवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय तथा बिगो नखुलेकोमा १ लाख ५० हजारदेखि ४ लाख ५० हजार रुपैयाँसम्मका जरीवाना वा ३ वर्षसम्म कैद वा दुवै सजायको प्रस्ताव गरिएको छ । 

झुक्याउने विवरणहरु दिने, जालसाजीयुक्त कारोबार गर्ने, लिखत विवरण तथा अभिलेख नष्ट गर्ने १ लाख ५० हजारदेखि ६ लाख रुपैयाँसम्म जरीवानाको प्रस्ताव गरिएको छ । 

कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आपूmले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आपूmलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने बिधेयकमा उल्लेख छ । 

कसैले हुँदै नभएको वा कृत्रिम वा झुट्टो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानिने भनिएको छ । 

कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने, कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने काम दण्डनीय हुने विधेयकमा उल्लेख छ । 

झुट्टो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्व अनुमान सम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने, बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने, बदनीयत साथ झुट्टा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्व अनुमान बनाउने वा प्रकाशित गर्ने समेत कारबाहीमा पर्ने भएका छन् । 

विधेयक यस्तो  छः