काठमाण्डौ । सेयर लगानीकर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्न लोभ्याउने एउटा तत्व हो प्रतिसेयर आम्दानी(इपीएस) । तर, आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गर्ने क्रममा सोझा लगानीकर्तालाई झुक्याउने नियतले केही ठूला बैंकहरुले प्रतिसेयर आम्दानी नै गलत प्रकाशित गरेका छन् । 

‘कम्पनीहरूबाट यथार्थ र तथ्यपरक सूूचना पाउने अधिकारको हनन हो । यो बजारमा एक प्रकारले चलखेल नै हो ।’
-दिलिप मुंनकर्मी, सेयर बजारका जानकार

माछापुच्छे बैंक र लक्ष्मी बैंकले मात्र होइन, त्यसअघि बित्तीय विवरण प्रकाशित गर्ने एनएमबी बैंकले समेत यसैगरी लगानीकर्तालाई झुक्याएको फेला परेको छ । 

एनएमबी बैंकले आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रति सेयर आम्दानी २७.६९ रुपैयाँ रहेको बित्तीय विवरण प्रकाशन गरेको थियो । तर, प्रति सेयर आम्दानी निकाल्ने चल्तीको सूत्र प्रयोग गरेर हेर्दा २३.३८ रुपैयाँ मात्र देखिएको छ । 

प्रतिसेयर आम्दानीले प्रतिकित्ता सेयरबराबर कम्पनीले कति आम्दानी गर्यो भन्ने देखाउँछ । यो दर निकाल्ने निश्चित सूत्र हुन्छ । कम्पनीले प्रत्येक वर्ष गर्ने खूद नाफालाई सो कम्पनीको त्यसबेला कायम कुल सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ ।

एनएमबी बैंककै उदाहरण हेर्ने हो भने उसले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १ अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ खूद नाफा गरेको देखिएको छ । यो अवधिसम्म बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड १७ लाख ७ हजार ४ सय रुपैयाँ रहेको छ । १ सय रुपैयाँ अंकित दरले हिसाब गर्दा यो बैंकको सेयर संख्या ६ करोड ४६ लाख १७ हजार ७ सय ४ कित्ता हुन आउँछ । यो सेयर कित्तालाई खूद नाफाले भाग गर्दा २३ रुपैयाँ ३८ पैसा प्रतिसेयर आम्दानी भएको देखिन्छ । 

पछिल्लो पटक बित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंक लक्ष्मी बैंकले प्रति सेयर आम्दानी २५ रुपैयाँ ४३ पैसा कायम भएको भन्दै बित्तीय विवरण प्रकाशन गरेको थियो । तर, प्रतिसेयर आम्दानी निकाल्ने सूत्र प्रयोग गर्दा उसको यस्तो आम्दानी १४ रुपैयाँको हाराहारीमा मात्र निस्कियो । 

लक्ष्मी बैंकले झै माछापुच्छ्रे बैंकले पनि प्रतिसेयर आम्दानीमा छलछाम गरेर लगानीकर्ता झुक्याउने काम गरेको देखिन्छ । उसले प्रतिसेयर आम्दानी १९ रुपैयाँ हुनुपर्नेमा २३ रुपैयाँ देखाएको थियो । यसअघिका वर्ष तथा त्रैमासहरुमा समेत बैंकहरुले गलत विधि प्रयोग गरी लगानीकर्तालाई झुक्याउनका लागि मात्र प्रतिसेयर आम्दानीमा गडबडी गर्ने गरेका थिए । 

सेयर बजारका जानकार दिलिप मुंनकर्मीले कम्पनीहरुले प्रकाशित गर्ने बित्तीय विवरणमा गलत इपीएस दिएर बदनियतपूर्ण र भ्रामक सूूचना प्रवाह भएको भन्दै यसले लगानीकर्ताहरूलाई गलत निर्णय गर्न बाध्य बनाउने बताए । ‘लगानीमा नाफा वा अपेक्षित लाभ हुँदैन ।’ उनले थपे–‘सबैभन्दा मूूल कुरा लगानीकर्ताहरूले कम्पनीहरूबाट यथार्थ र तथ्यपरक सूूचना पाउने अधिकारको हनन हो । यो बजारमा एक प्रकारले चलखेल नै हो ।’ उनले अहिले बढी इपीएस देखाए पनि कम्पनीहरुको वास्तविक लाभांश क्षमता त्यति नहुने र यहीकारण पछि लगानीकर्ताले धोखा पाउने समेत प्रष्ट्याए ।