काठमाण्डौ । दोश्रो त्रैमासमा कमालको प्रगति विवरण पस्किएको प्राइम कमर्सियल  बैंकले आफ्नो तेश्रो त्रैमासमा आफूलाई अर्ब क्लबमा प्रवेश गराउँदै नाफा लगायत अधिकांश सूचकमा फड्को मारेको छ ।

यो बैंक हालसम्म तेश्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये एकमात्र त्यस्तो बैंक हो, जसको प्रतिसेयर आम्दानी(इपीएस) बढेको छ ।

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफामा करिब ४३ प्रतिशतको फड्को हानेको हो ।

अघिल्लो आबको यही अवधिमा ८८ करोड २९ लाख रहेको खूद नाफा समीक्षा अवधिमा बढेर १ अर्ब २५ करोड ८५ लाखको उचाईमा पुगेको हो ।

बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएका कारण खूद ब्याज आम्दानीमा पनि उस्तै फड्को मारेको छ । अघिल्लो वर्ष १ अर्ब ३१ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ६९ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले १ अर्ब २५ करोडमा सीमित संचालन नाफालाई बढाएर १ अर्ब ७४ करोडको उचाई चुमाएको छ ।

बैंकले यो अवधिमा ७४ अर्ब २० करोड निक्षेप संकलन गरी ६६ अर्ब ५३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५६ अर्ब १० करोड निक्षेप संकलन गरी ४८ अर्ब ६१ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ९१ करोडमा सीमित रिजर्बकोषको आकार बढाई २ अर्ब ६६ करोडको उचाईमा पुर्याएको छ ।

समीक्षा अवधिमा बैंकले संभावित जोखिम व्यवस्थापन कोषबाट १५ करोड ३६ लाख बढी राइट ब्याक गरेको छ ।

अघिल्लो वर्ष १.४३ प्रतिशत रहेको निस्क्रिय कर्जा घटाएर १.०६ प्रतिशतमा सीमित गर्न बैंक व्यवस्थापन सफल देखिएको छ । 

यो बैंकको प्रतिसेयर आम्दानी भने बढेको छ । अघिल्लो वर्ष २०.३२ रुपैयाँ रहेको इपीएस यो वर्ष झिनो बढोत्तरी भई २०.८९ रुपैयाँ कायम भएको हो । हालसम्म तेश्रो त्रैमासको रिपोर्ट प्रकाशन गरेका वाणिज्य बैंकमध्ये प्राइम त्यस्तो पहिलो बैंक हो, जसको  इपीएस बढेको रिपोर्ट आएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३३.१२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.१२ गुणा कायम भएको छ ।