काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा  एनएमबी बैंकले राम्रो प्रगति गरेको छ । यो बैंकले खूद नाफामा २३.३० प्रतिशतको वृद्धि गरेको छ भने सबै मुख्य सूचकमा फड्को मारेको छ । 
 
बैंकले समीक्षा अवधिमा १ अर्ब ४१ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब १४ करोड खूद नाफा आर्जन गरेको थियो । 
 
एनएमबी बैंकको पूँजीअनुसार नाफा वृद्धि भएका कारण प्रतिसेयर आम्दानी समेत बढेको छ । हालसम्म तेश्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये प्रतिसेयर आम्दानीमा राम्रो बढोत्तरी गर्ने एनएमबी बैंक पहिलो बैंक हो । यसअघि प्राइम कमर्सियल बैंकको समेत इपीएस बढेको थियो, तर झिनो मात्र । 
 
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी २९ दशमलव ०९ रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा २३ दशमलव ३ प्रतिशले बढेको हो । गत वर्षको यही अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव ६ रुपैयाँ रहेको थियो । 
 
प्राय सबै वाणिज्य बैंकले गत वर्षको भन्दा पूूँजी वृद्धि गरेका कारण ती बैंकको प्रतिशेयर आम्दानी वृद्धि हुन नसकेको हो । तर एनएमबी बैंकको चुक्ता पूँजी गत वर्षको समान ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रहेको छ । 
 
समीक्षा अवधिमा बैंकले २ अर्ब १० करोड ३२ लाख खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ६९ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ। यी दुवै सूचक अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः १३ दशमलव २८ र ४४ दशमलव ५२ प्रतिशतले बढी हो । यसैगरी, खराब कर्जा असुलीमा पनि बैंकले उल्लेख्य प्रगति गरेको छ । कूल कर्जाको १ दशमलव १ प्रतिशत मात्र खराब कर्जा रहेको छ । यो गत वर्षको भन्दा ३५ प्रतिशत भन्दा बढी प्रगति हो । गत वर्ष बैंकको खराब कर्जा १ दशमलव ७ प्रतिशत रहेको थियो । 
 
८५ अर्ब २९ करोड ६२ लाख निक्षेप रहेको बैंकले ७४ अर्ब १ करोड ३७ लाख कर्जा प्रवाह गरेको छ । 
 
बैंकले जगेडाकोषमा कमालको प्रगति गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ९५ करोड रहेको कोषको आकार बढाई ५ अर्ब ६३ करोड रुपैयाँको उचाईमा पुर्याइएको छ ।
 
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८७.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.०३ गुणा कायम भएको छ ।  
 
राष्ट्रबैंकले तोकेको पूँजी ८ अर्ब कायम गर्न बैंकलाई अझै चटारो छ । बैकले १ अर्ब ५४ करोड पूँजी थप गर्नुपर्ने देखिन्छ ।