काठमाडौँ । इभरेस्ट इन्स्योरेन्सले लगानीकर्तालाई चार सय प्रतिशतभन्दा बढी हकप्रदको भारी बोकाउने योजना सार्वजनिक गरेको छ । कम्पनीले सोमबार साधारण सभासम्बन्धी सूचना जारी गरी त्यस्तो योजना सार्वजनिक गरेको हो । बीमा समितिले तोकेको शेयर संरचना कायम गर्न र चुक्ता पूँजी वृद्धि गर्न कम्पनीले हकप्रदमाथि हकप्रदको भारी बाकाउने भएको हो । वैशाख १० गते सोमबार दिउँसो २ बजेका लागि बोलाइएको साधारण सभामा १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर जारी गर्नुका साथै ठूलो परिमाणमा हकप्रद जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यसका साथै ६ लाख ३९ हजार बराबरको नगद लाभांश समेत जारी गर्ने सूचनामा उल्लेख गरिएकाे छ । 

कम्पनीले बीमा समितिले तोकेको शेयर संरचना परिवर्तन गर्न गत साधारण सभाबाट पारित भएको १ बराबर ६ (६ सय प्रतिशत) अनुपातमा परिमार्जन गर्ने बताइएको छ । समितिको निर्देशन अनुसार ५१ प्रतिशत संस्थापक शेयर कायम गर्न पहिलो चरणमा सर्वसाधारण शेयरधनीका लागि मात्र १ बराबर १ दशमलव ०५ (एक सय पाँच प्रतिशत) अनुपातमा हकप्रद जारी गर्ने जानकारी दिएको छ । सो हकप्रदपछि कायम हुने सम्पूर्ण शेयरधनीलाई १ बराबर ३ (तीन सय प्रतिशत) अनुपातमा शेयर जारी गर्र्ने प्रस्ताव वैशाख १० मा हुने साधाराण सभामा लैजाने भएको छ । यसरी हाल कायम भएका सर्वसाधारण शेयर धनीले चार सय पाँच प्रतिशत हकप्रद किन्नुनर्पे भएको छ भने संस्थापक शेयरधनीले तीन सय प्रतिशतमात्र हकप्रद किन्नुपर्ने भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म कम्नपीको चुक्ता पूँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको छ ।

हकप्रदमाथि हकप्रदको भार बोकाउने कम्पनीको यो योजनको भार थाम्न शेयर धनीका लागि चुनौतीपूर्ण हुने विश्लेषण हुन थालेको छ ।