काठमाण्डौ । नयाँ अवधारणा हुने युवाहरुलाई लगानीमा सहयोग गर्ने तथा तथा विभिन्न कम्पनीको सेयरमा लगानी गरी देशको आधारभूत संरचना विकासमा काम गर्ने उद्देश्यले स्थापित इमर्जिंग नेपाल लिमीटडले ५ करोड बराबरको आइपीओ जारी गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो । निश्कासित हुने ५ लाख कित्ता सेयर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि हो ।

नयाँ अवधारणामा काम गरिरहेको यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमीटेडले गर्नेछ । आइतबार इमर्जिंग नेपाल र एनआइसी एशिया क्यापिटलबीच आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्ने सम्झौता भएको हो । 

सम्झौतामा एनआइसी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल तथा ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले हस्ताक्षर गरेका छन् । 

नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक–निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । 

उता, एनआइसी एसिया क्यापिटल लिमिटेडले भने हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।