काठमाण्डौ । इमर्जिङ नेपालले जारी गर्ने भनिएको ५ करोड रुपैयाँ बराबरको आइपीओलाई धितोपत्र बोर्डले पाइपलाइनमा राखेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको थियो । सो क्रममा कम्पनीले बोर्डमा आवेदन दिएको थियो । प्राप्त आवेदनमा संलग्न कागजातहरुको अध्ययनपछि बोर्डले इमर्जिङ नेपालको आइपीओलाई पाइपलाइनमा राखेको हो । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहनेछ । 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओ कमजोर वित्तीय आधार जनाउने आइपीओ ग्रेड फोरको रेटिङ दिएको छ । 

इमर्जिङ नेपाल ४ वर्षअघि इन्नोभेटिभ आइडिया भएकाहरुलाई प्रोत्साहन गर्ने हिसाबले स्थापना भएको कम्पनी हो । यो कम्पनी पब्लिक प्राइभेट पार्टनरसिपको आधारमा संचालनमा आएको हो । 

कम्पनीमा विशाल ग्रुप तथा आइएमई ग्रुपको मुख्य स्वामित्व रहेको छ । यी कम्पनीको ५० प्रतिशत सेयर हिस्सा रहेको कम्पनीमा विभिन्न उद्योगी, बैंकर्स, व्यवसायी लगायतको पनि निकै ठूलो सेयर हिस्सा छ भने सरकारको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।