नयाँदिल्ली । अमेरिकी प्रतिबन्धको बाबजुद पनि भारत र इरानबीचको व्यापार जारी छ ।

यहीबीच भारत र इरानबीच भारुमै व्यापार गर्ने सम्झौता भएको भारतीय मिडियाहरुले दाबी गरेका छन् । यसको अर्थ भारतले इरानलाई कच्चा तेलको भुक्तानी डलरमा नभई भारुमै गरिरहेको छ ।

तर, अमेरिकाको प्रतिबन्धको सामना गरिरहेको इरानका अगाडि कैयन संकटहरु देखिएका छन्, त्यसमध्ये एक हो खाद्य संकट । यो समस्या सुल्झाउन इरानले कच्चा तेलको बदला भारतबाट बासमति चामल लिने सम्झौता गरेको छ । यसको अर्थ भारतले अब कच्चा तेलको भुक्तानी भारुबाट मात्र नभई बासमति चामलबाट समेत गर्नुपर्नेछ ।

वस्तु विनिमय प्रणालीको रुपमा यी दुई देशबीच कच्चा तेल र बासमती आदानप्रदानको समेत सम्झौता भएको समाचारमा जनाइएको छ ।

सन् २०१८ को मई महिनामा अमेरिकाले जब इरानमाथि प्रतिबन्ध लगाएको थियो, त्यसबेला यो पनि भनेको थियो कि भारत समेत अन्य देशले समेत इरानबाट तेलको आयात बन्द गर्नुपर्छ । तर, पछि दवाबका कारण अमेरिकाले भारतसहित ७ देशलाई यो प्रतिबन्धबाट मुक्त गरिदिएको थियो।

भारतले इरानबाट कच्चा तेल किन्छ भने इरानलाई अन्नबाली, औषधि र विभिन्न मेसिन निर्यात गर्छ । 

सम्झौताअनुसार कच्चा तेलका लागि तिर्नुपर्ने राशि भारतीय रिफाइनरी कम्पनी नेशनल इरायिन आयल कम्पनीको यूको बैंकमा रहेको खातामा भारुको रुपमा जम्मा गरिदिनेछ । 

भारतीय रुपैयाँ इरानमा चल्दैन । यहीकारण यूको बैंकमा जम्मा भएको भारुलाई इरानले भारतबाट आयात गर्ने सामानको भुक्तानीका लागि प्रयोग गर्नेछ ।

भारतले आफूले आयात गर्ने कुल कच्चा तेलमध्ये करिब १२ प्रतिशत इरानबाटै खरीद गर्ने गर्छ ।

भारतले इरानबाट प्रतिदिन औसतमा ५ लाख ६० हजार ब्यारेल कच्चा तेल आयात गर्ने गर्छ ।  

भारतले कुल बासमति उत्पादनको ४० प्रतिशत निर्यात गर्ने गर्छ । बासमति निर्यात गरिने देशमा इरान टप देशमै पर्छ । 

मेरठस्थित बासमति निर्यात विकास प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा. रितेश शर्मालाई उद्धत गर्दै रिपोर्टमा जनाइएअनुसार भारतले सन् २०१५/१६ मा इरानलाई ३७२३ करोड भारु मूल्य पर्ने ६.९५ लाख मेट्रिक टन बासमति निर्यात गरेको थियो । २०१७/१८ मा यो निर्यात ८.७७ लाख मेट्रिकटनको उचाईमा पुगेको छ ।