काठमाण्डौ । विश्वमै पहिलापटक पूर्ण इलेक्ट्रिक कमर्सियल विमानले क्यानडामा पहिलो उडान भरेको छ ।

इलेक्ट्रिक विमानले मंगलबार क्यानडाको बैंकुवर सहरमा सफलतापूर्वक परीक्षण उडान भरेको हो । सिएटलको इन्जिनियरिङ कम्पनी म्याग्निएक्सका सीईओरोइ गन्जास्र्कीका अनुसार सफल परीक्षण उडानपछि व्यावसायिक रुपमा इलेक्ट्रिक विमान सञ्चालनमा ल्याउन सकिने अवस्था सिर्जना भएको छ ।

यो विमान निर्माता कम्पनीले अर्को विमान कम्पनी हार्बर एयरसँग मिलेर यो विमान तयार गरेको हो । गन्जास्र्कीका अनुसार यो इलेक्ट्रिक विमानको निर्माण लागत निकै कम रहेको छ । 

गन्जास्र्कीले अब इलेक्ट्रिक विमानको युग सुरुआत भएको घोषणा पनि गरे । ‘यो विमान व्यावसायिक रुपमा सञ्चालन आएपछि कार्बन उत्सर्जनमा पूर्ण रुप रोकिनेछ’, उनले भने, ‘किनकि विश्वभर हवाईयात्रुको संख्या बढ्दै गएको अवस्थामा नागरिक उड्डयन कार्बन उत्सर्जन गर्ने सबैभन्दा ठूलो स्रोत बनेको छ ।’

यो इलेक्ट्रिक विमान ६२ वर्ष पुरानो ६ यात्रु क्षमताको डीएचसी–२ डी ह्याविल्यानड बिभर सीप्लेनबाट निर्माण गरिएको छ । यसमा इन्जिनियरहरुले एउटा इलेक्ट्रिक मोटर जडान गरेका छन्  ।

विमानको परीक्षण उडान हार्बर एयरका संस्थापक तथा सीईओ ग्रेग म्याकडेगलले उडाएका थिए । उनले १५ मिनेटजति विमान उडाएका थिए ।

म्याकडेगलले इलेक्ट्रिक विमान व्यावसायिक रुपमा सञ्चालनमा आएपछि इन्धनको बचतका साथै मर्मत खर्चमा निकै कमी आउने बताए । ‘किनकि इलेक्ट्रिक मोटर मर्मतमा निकै कम खर्च लाग्छ’, उनले भने ।

परीक्षण उडान गरिएको विमानमा लिथियम ब्याट्रीको प्रयोग गरिएको छ । यो ब्याट्री एकपटक चार्ज गर्दाे करिब १०० माइलको यात्रा गर्न सकिने निर्माताहरु बताउँछन् ।

इलेक्ट्रिक विमान व्यावसायिक रुपमा सञ्चालनमा ल्याउन अझै दुई वर्ष लाग्ने कम्पनीले जनाएको छ । साथै अब बन्ने इलेक्ट्रिक विमानमा शक्तिशाली ब्याट्री र मोटर जडान हुने भएकोले लामो यात्रा तय गर्न सकिने कम्पनीको विश्वास छ । – एजेन्सी