काठमाण्डौ। इसेवा फोन पे प्रालिले विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य गरेको भन्दै खेद प्रकट गरेको छ। 

इसेवाले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवामाथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नभएको पनि जनाएको छ। ‘विगत ११ वर्षदेखि भुक्तानी सेवाप्रदायकका रुपमा सेवा गर्दै नेपालमा विद्युतिय भुक्तानीको जग बसालेको इसेवा नै भएको सबैलाई जानकारी नै छ’, विज्ञप्तिमा भनिएको छ, ‘सुरुवाती दिनदेखि नै विभिन्न बाधाव्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेका हौँ।’ 

इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त र नियमन भएको कम्पनी भएकोले यसको संरचना, प्रविधित था सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको कम्पनीले जानकारी गराएको छ। इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसका लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध रहेको उसले प्रस्ट पारेको छ। ‘कम्पनीको गोपनियता नीति तथा प्रयोगकाशर्तहरु वेबसाइटमा उल्लेख गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको अक्षरसःपालना गरेका छौँ।’

लकडाउनको यस विषम परिस्थितिमा पनि ग्राहकलाई अनवरत सेवा दिनका लागि आफ्ना कर्मचारीहरु ‘वर्क फर्म होम’ अन्तरगत २४ सै घण्टा सेवामा कटिबद्ध रहेको कम्पनीले जनाएको छ। मुलुकको यस विषम परिस्थितिमा नगदरहित भुक्तानीलगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएको र यसको आफूहरु भरपर्दो सारथि भएको विज्ञप्तिमा उल्लेख छ। 

विभिन्न अनलाइनमा शृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुष्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवाप्रदायकर बैंक तथा वित्तीय संस्थाहरुलाई कम्पनीले अनुरोध गरेको छ। ‘हामी नगदरहित नेपाल बनाउने अभियानमा किञ्चित पनि बिचलित छैनौँ र हुने छैनौँ’, विज्ञप्तिमा भनिएको छ।