काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ई–कमर्सलगायतका कारोबारबापत अनलाइन वित्तीय सेवामार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले युट्युबजस्ता सामाजिक सञ्जालका माध्यमबाट हुने आम्दानी रकम नेपालकै बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्था, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरुका लागि राष्ट्र बैंकले सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो। 

विशेषगरी सूचना प्रविधिसम्बद्ध दक्षता र विज्ञताको निकासी बिक्रीबापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक र व्यापारिक कारोबारबापत प्राप्त हुने रकमलगायतका रकमहरु मान्य हुने सूचनामा उल्लेख छ। 

यसअघि युटुबजस्ता सामाजिक सञ्जालबाट आम्दानी भएका रकम धेरैजसो वेस्टर्न युनियन मनी ट्रान्सफरमार्फत आउने गरेको थियो। राष्ट्र बैंकको यो व्यवस्थापछि भने स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भएपश्चात भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्थासमेत) ले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिएबमोजिमको शुल्क, रोयल्टीलगायत आवश्यक परे सोको भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा यस बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। 

यसरी आम्दानी भएको रकमका सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन एवं प्रचलित अन्य ऐन, कानुन तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्ने सूचनामा उल्लेख छ। यसरी सम्पन्न भएका कारोवारहरुको मासिक विवरण तोकिएको ढाँचामा महिना समाप्त भएको मितिले १५ दिनभित्र यस्तो कारोबार गर्ने बैंक तथा अन्य संस्थाले राष्ट्र बैंकमा बुझाउनुपर्ने सूचनामा प्रस्ट पारिएको छ। 

यस्तो छ सूचना –