काठमाण्डौ । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘ई–सेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ ।

सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई–सेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको छ ।

एक दशकको अवधिमा ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् ।

हाल ई–सेवाका देशभर करिब ८० हजार एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म ई–सेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका छन् ।

१० वर्ष पूरा भई एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘यो एक दशक हाम्रा लागि निकै उत्साहजनक रह्यो । कुराकानीका लागिमात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ । आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ।’ 

ई–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आममानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले ई–सेवालाई सम्झन थालेका छन् । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको योजना रहेको छ । 

ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

यस्तो छ दशवर्षे संघर्ष र सफलताको उतारचढाव 

सन् २००९ मा बेटा भर्जन ल्याउँदा ई–सेवा डेक्सटप कम्युटरबाट मात्र चलाउन मिल्थ्यो । सुरुमा बजारमा रिचार्जकार्ड सहजै नपाइने अवस्था थियो भने नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्जमा गइसकेको थिएन । 

ई–सेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याई पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पिन उपलब्ध गराउन थालेको हो ।

सुरुमा रिचार्ज कार्ड घोटेर सिस्टमममा पीन राख्नका लागि पनि दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ ।

ई–सेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयरलगायत अन्य सबै एयरलाइन्स्को टिकट ई–सेवामार्फत लिन सकिन्छ । हरेक दिन हजारौँ जनाले ई–सेवामार्फत एयरलाइन्स टिकट लिएर आफ्नो गन्तव्यमा पुग्ने गर्दछन् । 

सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको गरेको ई–सेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट रहेको थियो । २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । यतिबेला ई–सेवाको ब्राण्ड कलर निलोबाट परिवर्तन गरी हरियो बनाइएको थियो । 

सन् २०१३ बाट एजेन्ट मोडलमा गएको ई–सेवाका २०१४ मा ५ हजार एजेन्ट र एक लाख ग्राहक पुगेका थिए । आजको दिनमा ई–सेवामा मर्चेन्टको संख्या ८० हजार पुगिसेको छ । 

सन् २०१७ मा इसेवालेमोबाईल एप्लीकेशनमार्फत इन्टरनेट र एसएमएस दुबै भर्र्जनबाट ई–सेवाका सेवा लिन सकिने प्रणालीको विकास गर्यो । २०१६ मा नेपाल राष्ट्रबैंकले भुक्तानी सेवालाई नियमन गर्ने नीति लिएसँगै ई–सेवाले नेपाल राष्ट्रबैंकमा इजाजतका लागि निवेदन दिएका थियो । २०१७ मा ई–सेवाले नेपाल राष्ट्रबैंकबाट लाइसेन्स प्राप्त गरेको थियो ।

ई–सेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उद्देश्यले करिब ५ सय वटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना, निःशुल्क रूपमा अत्याधुनिक किसिमका  शैक्षिक सफ्टवेयरसमेत वितरण गरेको छ । 

यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजनतथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । 

तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनीअन्तर्गत ई–सेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस गु्रपले अहिले १ हजारभन्दा बढी दक्ष जनशक्तिलाई  रोजगारी प्रदान गर्न सफल भएको छ। ई–सेवाले हालसम्म दक्षिण एशीयाली खेलकुद साग, एन्फाका विभिन्न फुटबल म्याच तथा क्रिकेटका ठूला खेलहरूको टिकट बिक्री तथा व्यवस्थापन सफल रूपमा गरिसकेको छ ।