काठमाण्डौ । सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ । यस्तै, देशका चिनी उद्योगीलाई प्रोत्साहन हुने गरी सरकारले चिनीको वार्षिक कोटा समेत निर्धारण गरेको छ । 

सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाउँदै यो वर्ष एक लाख टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 

यसअघि चिनी उत्पादक संघ र उखु उत्पादक महासंघको आग्रहले चिनी आयातमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह गरेका थिए । नेपाल विश्व व्यापार संघको सदस्य भएकाले आयातमा प्रतिवन्ध लगाउन नमिल्ने  भएकाले सरकारले परिमाणात्मक बन्देज लगाएको हो । 

विदेशमा उत्पादन बढेपछि सस्तो चिनी भित्रिएर स्वदेशी उत्पादन बिक्री हुन हुन नसकेपछि उखू किसान र उनीहरुको उखू खरीद गर्ने चिनी उत्पादकहरु धराशायी बन्दै गएका छन् । सरकारले यही तथ्यलाई हेरेर आयातमा कोटा निर्धारण गरेको बताइएको छ। 

सरकारले वार्षिक कोटा निर्धारण गर्नुअघि नै विदेशबाट दुर्इ लाख टन चिनी आयात भइसकेको उखू उत्पादक संघले जनाएको छ । उसका अनुसार स्वदेशी उद्योगबाट उत्पादित १ लाख ७८ हजार टनमध्ये अधिकांश परिमाण बिक्री हुन सकेको छैन । स्वदेशमा उत्पादितमध्ये अहिलेपनि १ लाख २४ हजार टन चिनी गोदाममा थन्किएको छ  । देशमा चिनीको वार्षिक खपत साढे २ लाख टन छ।